बैशाख १३, २०८१ बिहीबार

शहरमा बदनाम कथा



लेखिदेउ पत्रकार

मेरो कथालाई बदनाम समाचार बनाएर

गाईदेउ गायक मर्माहत गीत बनाएर
अथवा,
बिर्सीदेउ दुखान्त घटना हो भनेर
काठमाडौं छिर्ने मुलद्दार थानकोट मै लेखिदेउ
शहरमा अचम्मको पागल पसेको छ भनेर ।
सिताको अग्निपरीक्षाको कथा सुनाउदै
मलाई मान्छे बन्नै दिएनौ
तिमीले भने जस्तै स्वास्नी हुन चेतनाले दिएन
शोषण सहन स्वाभावले दिएन
रत्नपार्कमको भद्दा छातीमाथि सस्तो सिङ्गारमा सझिएर
म,
आफ्नो स्वतन्त्रता उपभोग गरिरहेछु
आफ्नो जिन्दगी बाँचिरहेछु ।
छोरीको नाममा
प्रेमिकाको नाममा
श्रीमतीको नाममा
बुहारीको नाममा
कहिले पो आफ्नो जिन्दगी बाँचे
कहिले पो आफ्नो हाँसो हाँसे
कच्चीरोडमा तुफान उडिरहेको धुलो जस्तो
कम्ता डरलाग्दा छैनन् यी सत्यहरू
मलाई यस्तो प्रेम स्वीकार छैन
अथवा रातो मखमल
म,
धर्ती मै बस्न मंजुर छु
पढ्ने छन् लाखौ स्त्रीहरूले मेरो बिद्रोह कथा ।