बैशाख ८, २०८१ शनिबार

देशमा तीन महिनामा ३२ बालबालिकाको हत्या, २३ बालबालिका बेचिए



काठमाडौं –   बितेका तीन महिनाको अवधिमा नेपालमा  ३२ बालबालिकाको हत्या भएको छ । गत चैतदेखि असारसम्म उनीहरूको हत्या हुनु डरलाग्दो भएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

उनीहरूमध्ये ७ जनाको अपहरणपछि हत्या भएको छ । अवैध सम्बन्धका कारण ९ जनाको, सौतेनी आमाबाबुबाट १० जनाको र घरायसी कलहका कारण ६ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३८ प्रतिशत बालक, ३४ प्रतिशत बालिका र २८ प्रतिशत शिशु छन् ।

७ जनाको  अपहरणपछि हत्या
यस अवधिमा अपहरणमा परेका १० मध्ये ७ जना बालबालिकाको अपहरणपछि हत्या भएको छ । २ जना अपहरणपश्चात् मुक्त भएको र एकजनाको अवस्था अज्ञात रहेको प्रतिवेदनमा उल्लेख छ ।
५० प्रतिशतलाई फिरौती रकमका लागि, ३० प्रतिशतलाई पारिवारिक रिसइवी साध्न र २० प्रतिशतलाई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुट्न अपहरण गरिएको पाइएको छ ।

२३ बालबालिका बेचिए
प्रतिवेदनका अनुसार २३ जना बालबालिका बेचबिखनमा परेका छन् । जसमा १५ बालक र ८ बालिका छन् । यस्ता घटनाबाट प्रभावित बालबालिकामध्ये ८७ प्रतिशत अर्थात् २० जनाको चिनजानकै व्यक्तिबाट बालश्रम तथा अन्य कामको प्रलोभनमा परेर भारततर्फ बेचबिखन गर्न लैजाँदै गर्दा प्रहरीबाट उद्धार भएको छ ।

१३ प्रतिशत अर्थात् ३ जनालाई भारतमा सभा–सम्मेलन तथा विवाहमा नर्तकीका रूपमा प्रयोग गर्न लगेको प्रतिवेदनमा उल्लेख छ । देशका विभिन्न ८ जिल्लाका बालबालिका बेचबिखन तथा ओसार–पसारमा परेका छन् ।