बैशाख १३, २०८१ बिहीबार

दुई किशोरी बलात्कार गरिएको आरोपमा सात जना पक्राउ



चितवन – दुई किशोरी बलात्कार गरिएको आरोपमा चितवन प्रहरीले सात जना पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका ११ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाँच र माडी नगरपालिका ३ की १५ वर्षीया किशोरी बलात्कारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

भरतपुर ११ की किशोरी ३० गते बलात्कृत भएकी थिइन्। दुई दिन खोजी गरेपछि उक्त घटनामा संलग्न पाँच जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता शिव शर्माले बताए।

पहिलो घटनामा पक्राउ पर्नेहरूमा नवलपरासी गैंडाकोट ४ का युवराज सारु मगर, सुन्थिल धिमाल, भरतपुर ११ का आकाश थापा, अर्जुन विश्वकर्मा र अर्का एक १७ वर्षीय युवक छन्।

शर्माका अनुसार १७ वर्षीय युवकसँग युवतीको चिनजान थियो। युवतीलाई दिउँसो ३ बजे नारायणगढ पुर्याइदिने भनी सह–चालक युवक र चालक आकाश थापाले गाडीमा लिएर गएका थिए। भरतपपुर ११ स्थित डिएसएम मिनरल वाटर कम्पनीमा पुर्याइ उनीहरूले सामूहिक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।

दोस्रो घटना घटेको भोलिपल्ट प्रहरीले आरोपित समातेको थियो। पक्राउ पर्नेमा माडी नगरपालिका ३ का रामप्रताम महतो र नवराज महतो छन्। १५ वर्षीया किशोरीलाई पैदल हिँडिरहेको अवस्थामा मोटरसाइकलमा लिफ्ट दिएर उनीहरूले एकान्त स्थानमा लगी बलात्कार गरेका थिए।

बलात्कार भएको जाहेरीपछि प्रहरीले आरोपितको खोजी गरेको थियो। किशोरीको शारीरिक परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएपछि आरोपितहरूलाई जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा चलाइएको छ।