चैत्र १६, २०८० शुक्रबार

महिला कारागारमा पुरुष, महिला बन्दीलार्इ ७६ किमी लामो बाटो ओहोरदोहोर



हेटौंडा – महिलाका लागि बनेको कारागारमा पुरुष बन्दी राखेपछि मकवानपुरका महिला बन्दी र प्रहरीलाई समस्या परेको छ ।

भीमफेदी गाउँपालिकामा महिलाका लागि निर्मित कारागारमा पुरुष बन्दी मात्र राखिएपछि जिल्लाका महिला कैदीबन्दीलाई चितवन देखि हेटौडासम्म ओहोरदोहोर गराईरहनुपर्दा प्रहरीलाई हैरानी भएको हो । टाढासम्म ओहोरदोहोर गराउँदा सुरक्षा र अन्य समस्या हुनुका साथै महिला कैदि बन्दीलाई समेत समस्या भएको प्रहरीले जनाएको छ ।

भिभफेदी कारागारमा दुई वटा ब्लक निर्माण गरि २ हजार १ सय ५० जना अट्ने क्षमताको कारागार बनाईएपनि दुइवटैमा पुरुष राखिएको छ । हाल दुबै ब्लकमा गरी आठ सय ३८ जना कैदी÷थुनुवामा छन् । २०२८ सालमा स्थापना भएको कारागारमा क्षमता भन्दा निकै कम कैदी/बन्दी राख्दा कारागारमा ठाउँ खाली हुँदा हुँदै पनि महिला कैदी चितवन नै पु¥याउनुपर्ने वाध्यता छ ।

मकवानपुरका महिला बन्दी चितवन पठाउँदा मकवानपुर प्रहरी र चितवन कारागारले समेत समस्या भोग्नु परेको छ । अभियुक्त वा कैद तोकिएका महिलालाई जिम्मा लगाउन मकवानपुर प्रहरीलाई चितवन धाउँदै हैरान त छँदैछ, चितवन कारागारमा समेत क्षमता भन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या परेको कारागार प्रशासनले जनाएको छ ।

१५ जना क्षमता भएको चितवन महिला कारागारमा हाल ६२ महिला कैदी रहेको र ती मध्ये २५ जना मकवानपुर जिल्ला प्रहरी कार्यालबाट पठाइएको कारागारले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक वुद्धिराज गुरुङले महिला बन्दीलाई पटक/पटक अदालत उपस्थित गराउनुपर्दा दिनहुँजसो चितवन ओहोरदोहोर गर्नुपर्ने गर्दा समस्या हुने गरेको बताए । ‘करिब ७६ किमी लामो बाटो हुँदै कैदीलाई ल्याउनु/लैजानुपर्दा सुरक्षा जोखिम र आर्थिक समस्या परीरहेको छ’ उहाँले भन्नुभयो ‘तर पनि व्यवस्थापन गरीरहेका छाैँ।’