बैशाख ४, २०८१ मंगलबार

एक महिनामा १ सय ८० महिलामाथि हिंसा, ४३ बलात्कृत



ललितपुर – गएको साउन महिनामा मात्रै एक सय ८० महिला हिंसामा परेका छन् । ओरेकका अनुसार २०७५ साउन महिनामा मात्रै १ सय ८० महिला हिंसामा परेका हुन् ।

त्यी मध्ये ४३ जना किशोरी तथा महिलाहरु बलात्कृत भएका छन् । जसमा २५ जना १८ वर्ष भन्दा कम उमेरका बालिका तथा किशोरी छन् । ६ जनामाथि बलात्कारको प्रयास भएको छ ।

यी महिलाहरु सबैभन्दा बढी ३८ प्रतिशत श्रीमान, ३४ प्रतिशत छिमेकी र १२ प्रतिशत आफ्नै परिवारका सदस्यहरुबाट हिंसामा परेका हुन् ।

यसैगरी हिंसा प्रभावितहरु सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ३० प्रतिशत, २६ देखि ३५ उमेर समूहका २९ प्रतिशत र १६ वर्षभन्दा कम उमेरका २३ प्रतिशत महिला तथा बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् । गत आर्थिक वर्षमा बलात्कारका २ सय ८८ घटनामा १४ जनाको बलात्कारपछि हत्या भएको तथ्याँक ओरेकले अभिलेखिकरण गरेको छ ।

पछिल्लो समयमा हेर्दा अबोध बालिकाहरु बलात्कृत भएका छन् भने बलात्कारपछि हत्या गर्ने श्रृङ्खला पनि बढ्दो छ । संकलित तथ्याँकको आधारमा पनि सबैभन्दा बढी १८ बर्षभन्दा कम उमेरका १० जना र १८ बर्षभन्दामाथिका ४ जना बालिका तथा महिलाको बलात्कार पछि हत्या भएको पाइएको छ ।