चैत्र १६, २०८० शुक्रबार

आमा पत्रकारको नलेखिएको समाचार



काठमाडौं – पिठ्युँमा बच्चा बोकेर क्यामेराको भ्यूफाईण्डरबाट हेर्दै गरेकी एक महिलाको फोटो आईतबार दिनभर सामाजिक सञ्जालमा भाईरल भयो । फोटोले पत्रकारहरुको मात्र होईन, धेरै मानिसको ध्यान तान्यो । त्यसको कारण बच्चा बोकेर फोटो खिच्दै गर्नु मात्र थिएन, कार्यक्षेत्रमा दोहोरो जिम्मेबारी पूरा गर्नुपर्ने महिलाको बाध्यतालाई छर्लङ्ग पारेको थियो ।

कार्यक्षेत्रमा यो जिम्मेबारी पूरा गर्दै गरेकी यी महिला थिईन राष्ट्रिय समाचार समिति दाङ्ग संवाददाता रीता लामा । पत्रकार महासंघको स्थापना दिवसको प्रभात फेरीमा खिचेको फोटो आफ्नो मिडियामा आउन नपाउँदै अफ्नै फोटो भाईरल हुँदा उनी अचम्म परीन् । ‘पत्रकार महासंघको र्‍यालीमा मैले फोटो खिच्दै गरेको फोटो फोटोग्राफर साथी कुलदिप न्यौपानेले खिच्नुभएको रहेछ, मलाई दिनुभयो र मैले फेसबुकमा पोष्ट गरेर कार्यक्रममा व्यस्त भएँ’ उनले भनिन् ‘मेरो मिडियामा समाचार नआउँदै आफ्नै फोटो भाईरल बनेछ ।’

बच्चा बोकेर फोटो खिच्दै गरेको फोटो देखेर अरुलाई अचम्म लाग्यो तर उनी २ वर्षदेखि यसरी नै काम गरीरहेकी छन् । उनको घर प्यूठान भएपनि दाङ्गमा कार्यरत छिन् भने श्रीमान पनि रोजगारीमै भएको कारण बच्चा हेरीदिने कोही छैन । ‘एकल परीवारमा बस्ने, त्यसमाथी मेरो घर प्यूठान भएपनि कार्यक्षेत्र दाङ्ग प¥यो । श्रीमान रोजगारीका लागि कञ्चनपुर हुनुहुन्छ’ उनी भन्छिन् ‘एकैछिन हेर्दिनुस न भनेर बच्चा छोडेर हिँड्ने कोही नभएपछि आफै बच्चा बोकेर फोटो खिच्न र समाचार खोज्न हिँड्ने त मेरो दिनचर्या हो ।’

सँधै अरुका समाचार खोज्ने र लेख्ने उनको कठिन दिनचर्यालाई सम्झँदा आफै अचम्म पर्छिन । आफूले दिनहुँ लेख्ने समाचार भन्दा उनको नलेखिएको समाचार फरक र अझ बढी रोचक छ । ‘बिहानै ५ बजे उठेर बच्चाको स्याहार आफै, खाना पकाउने खाने, बच्चालाई खुवाउने आफै, बच्चाकाे लुगा कपडा एकएक घण्टामा फेरीदिनुपर्छ, धोईपखाली गरीदिनुपर्ने आफै’ लामा आफ्नो दिनचर्या सम्झन्छिन ‘बिहान गणतन्त्र अनलाईनमा काम गर्छु, दिनभरी पत्रीका र राससको लागि रीपोर्टिङ्ग, फेरी बेलुका खाना पकाउने खाने, सरसफाई, बच्चाको स्याहार कसरी भ्याएको छु आफैलाई अचम्म लाग्छ ।’

स्कुले जीवनमा भित्तेपत्रिका निकालेकी लामालाई त्यहिबेलादेखि नै पत्रकार बन्ने मोहले आकर्षित गर्यो । २०६६ सालमा गणतन्त्र राष्ट्रिय दैनिकमा समाचारदाताको रुपमा काम गर्न शुरु गरेपछि लामाले व्यवसायिक पत्रकारको रुपमा कलम चलाउन थालिन् ।

बच्चा जन्मेपछि उनलाई फेरी पत्रकारीतामा फर्कुँला र भन्ने लागेको थियो तर पनि अहिले उही उत्साह र जाँगरका साथ पत्रकारीता गरीरहँदा देख्नेलाई मात्र हैन उनी आफैलाई अचम्म लाग्छ । ‘बच्चा जन्मेपछि फेरी पनि फर्केर मिडियामा के काम गर्न सक्छु होला र ? भन्ने लागेको थियो, तर मैले पत्रिकामा दिनदिनै मेनन्यूज लेख्न थालेँ’ राप्ती समाचार दैनिकको घोराही प्रमुख समेत रहेकी उनि भन्छिन् ‘अहिले पनि महिनाभरी ६० प्रतिशत मेनन्यूज मेरै आउँदा बच्चा र पत्रकारीता एकैपटक कसरी भनेर सबै अचम्म पर्नुहुन्छ ।’

अविवाहित हुदाँ पत्रकारीता पेशामा क्रियाशिल हुन जति सजिलो थियो बच्चा जन्मेपछि निकै गाह्रो छ । तर तर उनले हार मानेकी छैनन् । नौ बर्षे व्यवसायिक पत्रकारीताको यात्रामा धेरै आरोह अवरोह झेल्नु परेपनि लामा शुरुमा जति उत्साहित थिइन् अहिले पनि त्यही उत्साह कायमै छ ।