बैशाख ८, २०८१ शनिबार

यी नेपाली डाक्टर जसले दाँतबाटै मृतक र डोबबाट अपराधी पत्ता लगाउँछिन



काठमाडौं – वि.सं. २०६९ असोज १२ गते मनोहरा खोलामा भएको सीता एयरको जहाज दुर्घटनामा १९ यात्रुको मृत्यू भयो । मृतक विदेशी नागरीक पनि भएकोले शवको सनाखत चाँडो गर्नुपर्ने थियो । तर शवहरु डढेर महिला पुरुष समेत छुट्याउन नसक्ने अवस्था थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पत्तालमा शवको सनाखत कसरी गर्ने भन्ने भईरहेको थियो । त्यो बेलाडा सामारिका दाहाल भारतको मणिपाल कलेजबाट अध्ययन सकेर भर्खर नेपाल फर्केकी थिईन, जसले १६ जनाको सनाखत दाँतबाटै गरीन ।
‘डढेर कालो भएको शरीर चिन्नै नसकिने अवस्थामा भएकोले शवबाट महिला र पुरुष छुट्याउन सक्ने अवस्था नै थिएन । तर दाँत जस्ताको त्यस्तै थियो’ डा. दाहाल नेपालमा शुरुमा दाँतबाट सनाखत गरेको स्मरण गर्छिन ‘त्यसबेला मैले दाँतबाट मृतकमध्ये १६ जनाको शनाखत गरेँ, जहाँ ८ जना ब्रिटिस नागरिक पनि थिए ।’
त्यहि नै नेपालमा दाँतबाट सनाखत गर्ने कार्यको शुरुवात थियो । त्यसपछि नेपालमा दाँतबाट गरिने सनाखतलाई प्राथमकिता दिइएको हो र डा. दाहाल नेपालको एक मात्र फरेन्सी डेन्टोलोजिस्ट अर्थात दाँतबाट सनाखत गर्ने चिकित्सक हुन् ।
पछिल्लो समय नेपालमा दुर्घटनामा परेर मृत्यु भएकाहरूको सनाखत फिङ्गरप्रिन्ट, डीएनए परीक्षण र दाँत गरी ३ तरिकाबाट हुने गरेको छ । तीमध्ये दाँतबाट गरिने सनाखत प्रभावकारी भएको विशेषज्ञहरूको दावी छ । दुर्घटनामा शरीर चिन्ने अवस्थामा नभएका शवको पहिचान गर्ने यो तरिका सहज उत्तम हुने उनीहरूको भनाइ छ । दाँतबाट गरिने सनाखत छिटो, सजिलो र सस्तोसमेत हुने भएकाले यो प्रक्रिया प्राथमिकतामा परेको बताइन्छ ।
कसरी चिनिन्छ दाँतबाट मान्छे ?
दाँत प्रायः सबै मान्छेको उस्तै हुनेभए पनि दाँतको बनावट र दाँत बस्ने तरिका फरक हुन्छ । कसैको दाँत अगाडि, कसैको पछाडि, बाङ्गो टिङ्गो र कसैको कुकुरको जस्तै हुने गर्छ । सोही बनोटको आधारमा दाँतबाट मान्छे पत्ता लगाईन्छ । प्रष्ट दाँत देखिने अवस्थामा फोटोबाट सनाखत गर्न सकिने डा. दाहाल बताउँछिन् । गतवर्ष फागुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला जहाज दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत पनि यसै आधारमा गरीएको हो । ‘मृतकको पहिचान गर्ने सबै आधार मेटिएको थियो’, डाक्टर सामरिका भन्छिन, ‘मृतकका आफन्तहरूलाई हाँसेको फोटो छ भने लिएर आउनुभन्यौँ । कसैको हरेक दाँतमा ग्याप थियो भने कसैको दाँतमा खाल्टो थियो । कुनैको दाँतमाथि थियो भने कसैको मिलेको थियो । तर मिलेको दाँतको सुन्दरीकरण गरिएको अर्थात मिलाइएको थियो । तर पनि सनाखत गरेर त्यसमा सफल भइयो ।’ दाँतबाट गरिने सनाखत डिएनए, फिङ्गरप्रिण्टजस्तै शतप्रतिशत वैज्ञानिक मानिन्छ ।
यूकेबाट फरेन्सीको डन्टलोजीमा डिग्री गरेपछि दाँतबाट गरिने सनाखतमा झनै सहज भएको डा. सामरिका बताउँछिन् । त्रिविको फरेन्सी विभागमा जब कङ्काल ल्याइन्छ अनि अस्पतालको दाँत विभागमा कार्यर सामरिकाको खोजी हुने गर्छ ।
कसरी गरीन्छ सनाखत
डा दाहालका अनुसार दाँतबाट गरिने सनाखतमा मिरर र टर्चलगायतका सामान प्रयोग गरिन्छ । फरेन्सी विभागमा शव ल्याएपछि फिङ्गरप्रिन्ट र डीएनए पठाइन्छ अनि दाँतबाट पनि सनाखत सुरु गरिन्छ । दाँतबाट सनाखत गर्दा मिलेको खण्डमा अन्य सनाखत गरिँदैन । सँगै फिङ्गर प्रिन्टको रिपोर्ट आएको खण्डमा त्यो रिर्पाेटलाई पनि तुलना गरिन्छ । अहिलेसम्म दुर्घटनामा निधन भएकाहरूको दाँत, फिङ्गरप्रिन्ट, कपडा र सामानबाट सनाखत गरिएको डा. दाहालको भनाइ छ ।
दाँतबाट नसकेको खण्डमा अन्तिम अवस्थामा मात्रै डीएनए परीक्षण गरिन्छ । विमान दुर्घटनामा पाइलट र विमानमा सवार सबै व्यक्तिको छिटो रिर्पाेट माग गरिएको हुन्छ र आफन्तले पनि आफ्नो निधन भएको व्यक्तिको छिट्टै दाहासंस्कार गर्न खोज्छन् । पीडाकोे समयमा डीएनए निकै झन्झटिलो हुनेहुँदा दाँतबाट गरिने सनाखत नै धेरैले रुचाउने र प्रभावकारी हुने भएकाले यसको माग बढ्दै गएको डा. दाहाल बताउँछिन् ।
डा. सामरिकाले दक्षिण एसियामा दाँतबाट गरिने सनाखतको बारेमा विभिन्न तालिमसमेत लिन र दिन जानेसमेत गरेकी छन् । उनको अनुपस्थितिमा अन्य ५ जना चिकित्सकहरूलाई उनले तालिम दिएर समक्ष बनाएकी छिन् ।
दाँतबाट गरिने सनाखत छिटो र सस्तो हुने भएकाले दाँतको रेकर्ड राख्न आवश्यक हुने डा. सामरिकाको भनाइ छ । त्यसका लागि सबै नागरिकले दाँतको रेकर्ड राख्नुपर्ने नियम सरकारले नै बनाए सहज हुने उनको सुझाव छ । उनले जनशक्ति अभाव भएका बेला आफू गर्भवती अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्न आएको सुनाइन् ।

दाँतबाट गरिने सनाखत त्रिवि शिक्षण अस्पतालमा मात्रै हुने गरेको छ । कुनै घटना र बलात्कारको केसमा पीडितको शरीरमा टोकिएको छ भने पनि दाँतबाट व्यक्ति पहिचान गर्न सहज हुने उनको भनाइ छ । नेपालमा बलात्कारको घट्ना बढ्दै गइरहेका बेला दोषी पहिचान नभएको अवस्थामा पीडितको शरीरमा टाकिएको भए त्यहाँबाट पनि दोषी पत्ता लगाउँन सकिने सामरिकाको भनाइ छ । ‘जिल्ला जिल्लामा दाँतबाट सनाखत गर्ने स्वास्थ्यकर्मीको टिम बनाउन सके टिचिङ अस्पताल नै धाउनुपर्ने अवस्था अन्त्य हुन्छ’ उनको सुझाव छ ।
दाँतबाट गरिने सनाखतमा एसियामै नेपाल श्रीलंकापछिको दोस्रो देशमा पर्ने डाक्टर सामरिका बताउँछिन् । विस्तृत जानकारी  : www.ratopati.com मा