बैशाख ८, २०८१ शनिबार

अफ्रिकाको डान्सबारमा बेचिन लागेका १३ नेपाली चेलीको भारतबाट उद्दार



काठमाडौं – भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी मंगलबार काठमाडौं ल्याइएको छ ।

नेपाली जनसम्पर्क समिति, भारतले अहमदावाद, बैङलोरलगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्दार गरी काठमाडौं ल्याएको हो ।

भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्दार गरी काठमाडाैं ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुलाई जानकारी दिए ।

समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेकी ९१ जना चेलीहरुको उद्दार गरिएको दावी पनि गरेको छ ।

ती चेलीहरुलाई उद्दार गर्नेक्रममा दलालहरुसँग नक्कली कागजपत्रसमेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कार्वाही गर्न पनि माग गरे ।

नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाइदिने प्रलोभनमा बेच्न लगेको अध्यक्ष पाण्डेको दावी छ ।

समितिले उद्दार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ ।

समितिका अध्यक्ष पाण्डेले उद्दार गरिएका ती चेलीहरुको शिक्षा, बसोबासलगायतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने बताए ।

नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कार्वाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने अध्यक्ष पाण्डेको तयारी छ ।

समितिले सो घटनामा संलग्न दोषिमाथि कारबाही गराउने र उनीहरुको व्यवस्थापनका लागि सरकारसँग पनि कुरा राख्ने जनाएको छ ।