चैत्र १६, २०८० शुक्रबार

कहाँ हराईन् विष्णु माझी ? ११ वर्षदेखि बाबुले छोरी भेट्न पाएनन्



स्याङ्जा – कालीगण्डकी नदी किनारको पुरानो बस्ती । बस्तीभित्र पुग्ने जो कोही नयाँ मान्छेलाई लठ्ठीको सहारामा, हिँडडुलगर्ने एक होँचो कदको मान्छेले सोध्छन् – ‘‘कता हिँड्नुभो? आउनुस् न एकछिन बसौं। राष्ट्रिय कलाकार विष्णु माझीको घर आउनुभएको छ, बसौं न।’ अनि गुन्गुनाउँछन् –
ताराबोटे बाटैमा लोटे,
खस्यो टोपी टिपिदेऊ चाउकोटे ……

गीतका ताराबोटे हुन उमेरले ५८ पुगेका चापाकोट–८ खोरियाघाटका तारा बहादुर बोटे । गाउँघरतिर एउटा उखान छ – ‘बाबुआमाको मन छोराछोरीमाथी, छोराछोरीको मन ढुंगामुढामाथी ।’ छोराछोरी ज्ञानी हुने धेरैका लागि यो उखान सुन्ने उखान मात्र हुन सक्छ तर बोटेको जीवनमा यो उखान ठ्याक्कै मेल खाएको छ ।

किनकी आफ्नै छोरी नेपालमै भएर पनि ११ वर्षदेखि जन्मदिने बाबुलाई नभेट्दाको पिडाले उनी बेलाबेला बर्बराईरहन्छन् । उनकी छोरी हुन चर्चित कलाकार विष्णु माझी । कक्षा ९ मा पढ्दा पढ्दै काठमाडौं गएकी छोरीसित ११ वर्षदेखि देखभेट नभएको उनी बताउँछन्। यो कुरा सुनाउँदा गहभरि आँसु बनाउँदै गीतकै तालमा भन्छन् –
विष्णु छोरी काठमाडौं गाको,
छोरी सम्झी बसेर म रोको।।।

छोरीको सम्झनामा उनी यस्तै गीत गाइरहन्छन्। उमेरले पाको भए पनि सुरिलो स्वर भएका ताराबहादुर आजभोलि घरायसी काममा त्यति ध्यान दिँदैनन्। पिता विष्णु ताराबहादुरका दुई छोरी र एक छोरा मध्येकी जेठी छोरी हुन्। छोरा बाबुराम गाउँमै मिस्त्री छन् भने कान्छी छोरी जीवन पनि गायन क्षेत्रमै छिन्।

बाल्यकालदेखि सोझी देखिने विष्णु अहिलेसम्म शिर ठड्याएर बोल्न डराउने बाबु ताराबहादुर बताउँछन्। ‘एघार वर्षअघि छोरीले आफैं बिहे गरेकी हो,’ उनले भने, ‘पोखराका कलाकार सुन्दरमणि अधिकारीसँग बिहे भयो भन्ने सुनेका थियौं। आफ्नो जातभन्दा माथिल्लोसँग बिहे गरी। बिहेपछि एकदिन केही समय माइत आएकी थिई। घर नजिकैको मन्दिरमा पूजा गरेर काठमाडौं फर्किहालीरु।’ उनले गहमा आँसु टल्पलाउँदै गाउँछन् –

विष्णु छोरी काठमाडौं हुनाले,
कहिलै पनि छाडेन रुनाले …..

गायन क्षेत्रमै राम्रो आम्दानी गर्नेमध्ये विष्णुको नाम लिइन्छ। उनले स्वर दिएका हरेक गीतले जनजिब्रो मात्रै होइन, ‘युट्युबमा समेत ठूलो भ्युअर’ पाएको छ। प्रतिगीत ५० हजारभन्दा माथि पारिश्रमिक लिन्छिन् रे उनी। तर घरको अवस्था दयनीय छ। आमा मेलापात गर्छिन्रु। दाइभाउजू ज्यामी काम।

बिहेपछि सुन्दरमणिले माइत पठाउन नमानेको आरोप माइतीपक्षको छ। उनलाई माइतीले टीको दिन पाएका छैनन्। ‘भेट्न मात्र होइन, फोनमै भए पनि बोली सुन्ने मन छ,’ बाबुले रुँदै भने, ‘छोरीले हातमा मोबाइलसमेत लिन पाएकी छैन रे। घरबाट बाहिर निस्किन पाउ“दिन रे। छोरी पनि कति निर्दयी भएकी, माइत आउनै नखोज्ने।’ उनले आफू काठमाडौं जान नसक्ने र छोरी माइती नआउँदा भेट्न नपाएको बताए। ज्वाइँ सुन्दरमणिले आउन नदिएको उनले बताए।

सालको पात टपरी हुनी हे बरै, नहुने सल्लैको।।।
तिम्रो माया कति छ कति हे बरै, नलाऊ पछि हल्लैको।।।

विष्णुले गाएको पछिल्लो यो गीतले मुलुकभर चर्चा कमाएको छ। ‘युट्युबमा अहिलेसम्मकै धेरैले हेरेका छन्, बालबालिकादेखि युवा र वृद्धवृद्धासम्मले मन पराएका छन्’, जिल्लाकै अग्रज कलाकार रमेश बीजीले भने, ‘सुन्दरमणिले बिहे गरेको हो या होइन,थाहा छैन। उनले विष्णुलाई काठमाडौंको कुन ठाउ“मा राखेको छ भन्नेसम्म जानकारी पाउन सकिएको छैन्।’

विष्णुको दैनिकी कसरीबितेको छ, माइतीघरमा कसैलाई थाहा छैनरु। केही वर्षअघि छोरी भेट्न आमा धर्मकुमारी काठमाडौं पुगेकी थिइन्। सुन्दरमणिले नै गायन क्षेत्रमा प्रवेश गराएको धर्मकुमारीले सुनाइन्। कान्तिपुरबाट