चैत्र १५, २०८० बिहीबार

पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या



राजविराज – सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ  । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौं पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको पानीको खोल्सीमा शव फेला परेको हो । मृतकका पति रमेश वैदेशिक रोजगारका लागि दुई वर्षदेखि मलेशियामा छन् ।

रमेशकी जेठी पत्नीले अर्केसँग विवाह गरेपछि पाँच वर्षअघि भोजपुरकी पदिकीसँग रमेशले विवाह गरेका थिए । पति विदेशिएपछि पदिकी देवर १६ वर्षीय सुब्बा श्रेष्ठ, सौताका आठ वर्षीय छोरा र बहिनीकी चार वर्षीय छोरीसँग बस्दै आएकी थिइन् ।

टिनको नयाँ घर बनाएको अवसरमा पदिकीले राति घरमै पार्टी गरेकी थिइन् । देवर सुब्बाले त्यस पार्टीमा घर बनाउने मिस्त्री हरेराम, भाउजू र आफू मात्र रहेको बताएका छन् । हत्याको आशंकामा प्रहरीले छिमेकी ३६ वर्षीय सन्तोष तामाङ्ग र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

तामाङ्गको घरबाट रगत लागेको खुकुरी र बञ्चरो फेला परेपछि अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तामाङ्ग दम्पतिले भने मासु काटेको रगत लागेको भन्दै काटिएको मासुसमेत देखाएका छन् ।

प्रहरीले अनुसन्धानका लागि मिस्त्री हरेराम र देवर सुव्बालाईसमेत नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ । शव पोष्टमार्टमका लागि राति ८ बजे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ ।

लाशको शनिबार विहान पोष्टमार्टम गरी अनुसन्धान अगाडि बढाइने इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतीक विष्टले बताए । हत्याको कारण खुल्न नसकेको उनले बताएका छन् ।