चैत्र १५, २०८० बिहीबार

जीवनसाथी भनेको जवानीमा मोज मस्ती र बच्चा जन्माउने मात्र हो ?



बिहानै म बिस्तारा बाट उठ्न नभ्याउदै किर्रर्र मोबाइलको घण्टी बज्यो र उठाएर हेलो भन्न नपाउँदै एक हजुरआमा भैसकेकी महिलाको चीत्कार थियो – ‘दिदी मलाइ मेरो बुढाले कुट्यो, मलाई बचाउनुहोस् ।’ यी कारूणिक शब्दले मलाई अत्यन्तै दुःखी बनायो । सुनेपछि एकदमै दया लागेर आयो । निःशब्द र स्तब्ध बनायो । जसोतसो उनलाई सम्झाई बुझाई एकैछिन उनको रोदन त रोकें तर पीडा कसरी रोकौँ ?

लगत्तै एक घण्टाको अन्तरालमा पुनः उस्तै प्रकृतिको अर्को फोन आउँछ । साँच्चिकै मेरो दिल बडो कठोर हुन्छ, सायद नजिक भएको भए झम्टिने थिएँ होला । अघिल्लो फोनको रोदनले नै अत्ति भैसकेको अबस्थामा उस्तै उस्तै प्रकृतिको घटना अघिल्लो भन्दा पनि अझ झन् झन् कारूणिक छ । कस्तो अचम्म एउटी हजुर आमा भैसकेकी महिला माथी अर्की महिला फेरी कसरी आउँछिन् ? निशंकोच अर्काको श्रीमान कब्जा गर्दै, उल्टै उनले नै बिधिबत रूपमा बैधानिक तवरबाट हरेक दुःख सुखमा साथ दिदैँ आफ्नो जवानी सुम्पेर खाली भएकी बुढ्यौलीले छोइसकेकी उनै श्रीमतीलाई घर बाट निकाल्ने प्रयास गरिन्छ ।

के यो पचाउन सक्ने कुरा हो त ? हे भगवान, यीनै श्रीमती हुन्, जो श्रीमानका हर दुःख सुख र खुसीमा साथ दिन पाउँदा आफुलाइ बिर्सिने ! भोक, प्यास, निद्रा, थकाइ, सबथोक बिर्सेर सारा शक्ति पतिलाई सुम्पिने । जब जब बिस्तारै उनको शक्ति क्षीण हुदै जान्छ तब उनी काम नलाग्ने हुन्छिन् ।
जब उनले श्रीमानका हरेक शारीरिक इच्छा पुरा गर्न र उनको इशारामा चल्न सक्दिनन् तब श्रीमानले अर्केतिर साेंचिसकेका हुन्छन् । के यही हो असल जीवन साथीको भुमिका ? के यो कुनै मानवता र पति पत्नीको सम्बन्ध हो त ?

आज सँसारभरी महिला हिँसा बिरूद्धका आवाजहरू घन्किरहेको यो अबस्थामा फेरी पनि महिला माथी कहिले यो नाम र कहिले त्यो नाममा दिन दुगुना र रात चौगुनाका हिसाबले महिला माथी विभिन्न हिँसात्मक गतिबिधिहरू बृद्धि भैरहेका छन् । आमा छोरी बहिनीको सम्बन्धलाई कुल्चदै उनीहरुको शरिरमा खेलेर हिँसामा आनन्द लिने ती यौनप्यासीहरूको प्यास नाश गर्नुपर्ने देखिन्छ ।

फेरी एकपटक यस धर्तिमा काली चण्डी दुर्गा भवानीको अवतार लिएर ती बालिकाहरूको कोमल शरिर माथी यौनहिँसा गरेर हत्या गर्ने नरपिचास हरूको बध गर्नु पर्ने देखियो । हिन्दु धर्मले पनि यही भनेको छ कि जसले छोरी चेली माथी नराम्रो दृष्टि लगाउँछ त्यसका आँखा फोर्नुपर्छ । छोरी घरको लक्ष्मी हुन्, उनीबिनाको घर शोभायमान हुँदैन भन्दै छोरीलाइ लक्ष्मीको संज्ञा दिने हाम्रो मान्यतामा पनि के छोरी भएर जन्म लिनु अभिसाप हो त ? यदी यही हो भने सृष्टि नै बन्द गरौँ न त ! होइन भने एक अर्कामा विभेद रहित व्यबहार र सम्मान गरौँ । आखिर एउटा गाडी त दुबै पाँग्रा बिना गुड्न सक्दैन भने हामी चेतनशिल मानब हौं हामी भित्रको विवेकलाई जगाउँदै महिला र पुरूषबिना मिलेर सृष्टिको बिकास सँगै जीवनको चक्र घुमाउनुपर्दछ । महिला र पुरूष एउटा रथका दुई पाँग्रा हुन् भने हरेक क्षेत्र र बिषयमा बिभेद किन ?
जब सृष्टिका लागी एउटा पुरूष र एउटी महिला आबश्यक भएको सत्य त यथार्थ हो नै । जसका लागी हाम्रो रितिरिवाज धर्म सँस्कृती अनुसारको बैधानिक सम्बन्ध कायम गराउन ईष्ट–मित्र आफन्तका साथै अग्नी साक्षी राखेर तिम्रा हरेक दुःखसुखमा पुर्णरूपमा साथ दिनेछु । आज देखि तीम्रो र मेरो शरिर एउटै हो तिमीलाई दुख्दा मलाइ पनि दुख्नेछ । तिम्रा आँखा रसाउँदा मेरा आँखा बाट आँशु बग्नेछ । तिम्रो खुसी नै मेरो खुसी हुनेछ भन्ने बाचा कबोल गरेर जन्मघर र उसका हर प्रकारका इच्छाहरूलाई पुर्णरूपमा आफ्नो बनाइसकेपछि, उसको सारा जवानी र शक्ति रित्याइसकेपछि यो वा त्यो बाहनामा उसलाई अनेक प्रकारका यातना दिन शुरू गर्ने किन ?

यदी महिलाका इच्छा मार्दा पुरूष लाई केही फरक पर्दैन भने महिलाले पुरूषलाई पनि त्यही ब्यबहार गरे के हुन्थ्यो होला ? पुरूषको पुरूषत्व भित्र कुनै प्रकारको इच्छा जाग्यो भने जुनसुकै तरिकाले पनि पुरा गर्नैपर्ने, हुनैपर्ने यदी नसकेको खण्डमा अनेकन समस्याहरु सिर्जना गर्ने । एउटा साधारण ब्यक्ति देखी ठूला ठूला पढेलेखेका कानुन जानेका पहुँचवाला ब्यक्तिहरूले श्रीमतीलाई दिने यो कस्तो प्रकारको साथ हो ? के जीवन साथी भनेको जवानीमा मोज मस्ती र बच्चा जन्माउने मात्र हो त ? यदी हो भने किन चाहियो यो सृष्टि ? यदी होइन र चाहिन्छ भन्ने हो भने सहमति काम, वचन र कर्ममा एकरूपता अनी व्यवहारमा इमान्दारिता हुनुपर्दछ । अनिमात्र हुन्छ जीवन साथीको साथ र सार्थक जीवन ।

झट्ट हेर्दा महिलाहरूले सबै अधिकार सम्पन्न पाएको जस्तो देखिन्छ । हुन पनि हाम्रो देशलाइ हेर्दा र राष्ट्रकै समग्र कुरा गर्दा सम्मानित पदमा महिला नभएका पनि त होइनन् । राष्ट्रपतिमा महिला, सभामुखमा महिला, अन्य जीम्मेबार पदमा पनि महिला तर निर्णायक तहमा पुरूष ? फेरी पनि अब केही हद सम्म महिला अधिकार र अवसरको लडाई सकियो । मात्र यसलाई व्यवस्थित गर्दै व्यवहारमा कार्यान्यन र संरक्षण गर्न जÞरूरी देखिएको छ । महिला मैत्री कानुन संविधानमा लेखिसकिएको छ तर पनि आज अधिकांश महिलाहरू हिजो भन्दा पनि शोषण, दमन, अन्याय र अत्याचारको सिकार किन ?

हाम्रो समाजको संरचनामा एउटा वर्गलाई पछाडी पारेर अर्को वर्ग धेरै अगाडी बढीसकेको छ । पिछडिएको वर्ग भित्र महिला, दलीत, जनजाती, अपाङ्ग फरक क्षमता भएका व्यक्ति, तेश्रोलिंगी आदि पर्दछन् । यसै अवस्थाकोे फाइदा लिँदै वर्गिय समाजको साहरा लिएर त्यो सामन्त साेंच भएको वर्गले अग्रगामी छलाङ्ग मारीसकेको छ । सोही अबस्थाको बर्गको समानता र अधिकार कागजमा मात्र सिमित हुनु, सबैले एक रूपताका साथ आफ्ना आवाज उठान गर्न र समयलाइ चिन्न नसक्नु, वा बलियो बनाउन नसक्नु, धैर्यता र स्थिरता नहुनु, छिटै अरूको विश्वास लोभ र प्रलोभनमा फस्नु तथा आपसी द्वन्द्धका कारण आज पनि खासै परिवर्तन हुन सकेका छैनन् । यसमा पनि दलित भित्रका दलित महिलाहरूको स्थिती झनै गुज्रिएकोछ । हात्तिका दुईवटा दाँत हुन्छन् रे । एउटा देखाउने र एउटा चपाउने । कतै हाम्रो सरकार र हाम्रा राजनीतिक दलहरू पनि हात्तिका दाँत जस्तै त भएका छैनन् ?

मानिसले आज वास्तविकताको धरातल बिर्सिँदै गएको छ । आज हाम्रा छोरीहरू असुरक्षित भएका छन् । विश्वास र भरोषा टुटेको छ । सद्भाव र आत्मीयता टाढिएका छन् । बास्तबिक सतही धरातल बिनाको प्राप्ति त आकाशको फल आँखा तरी मर जस्तै हो । यस्तै यस्तै परिबेशमा सबै मान्छे फरक फरक प्रकृतिका हुन्छन् । यसै सन्दर्भमा कुरा गर्नुपर्दा कसैलाई लाग्न सक्छ के सृष्टि कर्ता महिला मात्र हो त ? के महिला महिला बाट नै पिडीत बनेका छैनन् र ? के महिलाका कारण पीडित पुरूष छैनन् त ? आदि आदि । यी प्रश्न नआउलान् भन्न सकिँदैन र स्वभाविक पनि हो ।

यो केहि हद सम्म सत्य पनि हो । केहि नगण्य महिलाहरू जो अपवादका रूपमा पुरूषहरूलाइ पीडा दिएकाछन् । फरक याहाँ जुँगाको लडाइ मात्र हो । सोही यातना र पीडाहरू महिलाले आफ्नो भविष्यलाई संझेर सकेसम्म लुकाउने प्रयास गर्छिन् । सहने प्रयास र धैर्य गर्दै फेरी पनि इज्जत सम्झेर घर भित्रै बाट न्यायको अपेक्षा गर्छिन् । अन्तिम अबस्थामा मात्र बाहिरी ल्याउँछिन । अझै पनि सके सम्म परिबार मिलाउने उनको प्रयत्नमा ठुलो भुमिका र महत्वपुर्ण योगदान हुन्छ । महिला र पुरूषको तुलनामा हेर्दै गर्दा त्यहि कुरालाइ मर्कामा परेका पुरुष बर्गले उस्तै प्रकृतिका पीडाहरू न त सहन सक्छन्, न त ब्यक्त गर्न नै । किनकी त्यहाँनेर पनि पुरुषार्थ लुकेको छ ।

आफ्नो पुरुषार्थ लाइ कमजोर देखाउन पनि नचाहने पीडा सहन पनि नसक्ने जसका कारण बालबच्चाको बिचल्ली र पारिवारिक सँकट उत्पन्न हुन्छ । हुन त हाम्रो समाजमा पितृसत्तात्मक सोँच भएका आफ्नो क्षमता पनि नभएका केहि महिलाहरू चाकडी गरेर, नभए आफ्नो शरिर बेचेर भए पनि समाजमा प्रतिष्ठित पद, फाइदा र राजनीतिक सामाजिक तथा अन्य पद कब्जा गर्ने महिलाहरु पनि छन् । यस्ता नग्न प्रबृत्तिका केहि नगन्य महिलाहरू नै हामी नेपाली महिलाका लागि दुषित र कलंक बनेका छन् । जसले आफ्नो परिवारका साथै अन्य महिलाका श्रीमानलाई अबैधानिक रूपमा बन्धक बनाउने र हर खुसी लुटेर आफु रमाउने गरेको पनि हामी फाटफुट रूपमा देखेका र भोगेका पनि छौँ । जसलाई कानुनले पनि देख्न र छुन पनि सक्दैन ।

यो महिलाको सबैभन्दा खतरनाक र शक्तिशाली रोग हो । यस्ता प्रकारका अधिकार र अबसर प्रति मेरो बिमती छ । यस्ता प्रकारका अबसरहरू क्यान्सर जस्तै हुन् जो देखिँदैन तर भित्र भित्रै मान्छे पनि सम्पत्ति पनि सखाप पारेर छाड्दछन् । यसरी नै केहि महिलाका कारण केहि पुरूषहरू शोषित पीडित पक्कै पनि भएका छन् । तर जुन औंलामा बिष लाग्यो, त्यसलाइ मात्र काटेर फालौँ । समग्र वास्तबिक पिडीत महिलाहरूलाई पनि त्यहि दृष्टिले हेर्ने हो भने ठुलो अन्याय हुनेछ । जसका कारण एउटा महिला पुरूष बिच भएको बिभेदको यस ठुलो खाडलले भोली पनि असर नपार्ला भन्न सकिन्न । यसको उपचार छिट्टै नै नगरेमा अप्रेशन गर्न नपर्ला भन्न सकिन्न ।

अन्ततः यस रोगको उपचार भनेको आत्मसम्मान हुने खालका काम गर्ने । समान ब्यबहार समान अबसर र मायाले बाँधेर पछाडि पारिएको बर्ग भित्र पनि आपसी समझदारी एउटै आवाज लिएर एकताको सुत्रमा बाँधीएर एउटै उद्धेश्य र एउटै लक्ष्य भएको मार्ग निर्देशन कोर्दै ऐकबद्धता गर्नु नै यसको समाधान हुनेछ । सृष्टिले अन्याय गर्न सक्दैन, किनकी यो प्राकृतिक नियम हो ।

सृष्टि प्राकृतिक देन हो, बिभेद सामाजिक कुप्रथाहो । प्रकृति चुनौती होइन । लैगिँक बिभेद र सामाजीक कुरीति चुनौती हो । चुनौतीलाई चिर्दै अगाडी बढौँ । सद्भाव प्रेम र एकतामा मात्र सँभव छ हाम्रो भबिष्य । कस्तै पीडा दर्द लाई पनि सहकार्य गर्दै बाँडेर हाँसौं । स्वावलम्बी, स्वाभिमानी र सम्मानित भएर बाँचौँ । (लेखक: नेपाली काँग्रेस गुल्मीकी सचिव हुन् । )