चैत्र १५, २०८० बिहीबार

कुबेतमा बेचिएकी छोरीले ‘मम्मी म त मर्छु होला’ भन्ने म्यासेज पठाएपछि बाबु आमाको गुहार



सिन्धुली – एक वर्षदेखि काठमाडौंमा बसीरहेकी छोरी कुवेत पुगेको थाहा पाएपछि सिन्धुलीको मरिण गाउँपालिका ४ का कृष्णबहादुर भित्राकोटी खुसी नै थिए । १८ वर्षिया यूनिकाले त्यहाँ पुगेर फोन गरेपछि उनलाई लागेको थियो ‘छोरी कानुन अनुसार जान मिल्ने ठाउँमै पुगेकी होलिन् ।’ तर छोरी कुबेत पुगेको ९ महिनापछि आएको एउटा भ्वाईस म्यासेजले भने उनि छाँगाबाट खसेजस्तै भए । यूनिकाको म्यासेजमा थियो ‘मम्मी म त मर्छु होला । ४ जना बच्चा हेर्नुपर्छ । तीनवटालाई काखमा राख्छु । एउटालाई भुईंमा सुताएर हेर्छु । बच्चा रोयो भने मलाई आएर पिट्छन् । मलाई जसरी पनि निकाल्दिनुस् न मम्मी ।’
यूनिकाले १० दिनअघि बाबुको ईमोमा यस्तो म्यासेज पठाएपछि कृष्ण बहादुर तनावमा परे । छोरीको त्यस्तो म्यासेज आएपछि उनले हार गुहार गर्दै गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनलाई बताए । अध्यक्ष बम्जनले यूनिका कुबेतमा बेचिएको पत्ता लगाए ।

एक वर्षदेखि काठमाडौं बसेकी युनिकालाई ९ महिनाअघि काठमाडौं बस्ने गोविन्द थिंङले राम्रो काम पाइने भन्दै कुबेत पठाएका थिए । तर, नेपालबाट कुवेतमा काम गर्न श्रम स्वीकृति छैन । उनलाई गोविन्दले दलाल मार्फत बेचेर कुवेत पुर्याएका हुन् । अहिले युनिका थप समस्यामा भएको उनले बताएकी छिन् । ‘दिनमा १ घण्टा मात्रै सुत्न पाउँछु । बासी खाना खानुपर्छ’ बुबासँगको कुराकानीमा युनिकाले भनेकी छन् ‘धेरै पटक बेहोस भैसकें । मम्मी अब म कसरी फर्कनु ?’

कुवेत पठाउने चाँजोपाँजो मिलाउने दलाल गोबिन्द युनिकालाई पुर्‍याउन भनी भारतसम्म पुगेका थिए । भारतमा भेटिएका चौधरी भनिने व्यक्तिले उनलाई त्यहाँबाट कुवेत पठाए । उनले छोरीको उद्धारका लागि धेरैठाउँ हारगुहार गरे । त्यसैक्रममा रामकुमार कार्की नामका व्यक्तिले छोरी फर्काईने भन्दै २० हजार रुपैयाँ गरेर काठमाडौं भागे । तर दोहोरो बज्रपात परेको भन्दै कृष्ण बहादुरले गुनासो गरेपछि सुचना तथा परामर्श केन्द्र ९सामी० परियोजना, सिन्धुलीको पटकपटकको दबाबपछि रामकुमारले काठमाडौबाट २० हजार रुपैयाँ पठाइदिएका छन् ।

नेपालबाट प्रतिबन्धित घरेलु काममा लैजान गैरकानुनी ढंगबाट नेपालीहरुलाई ३ लाख ८० हजारमा किन्ने गरेका विभिन्न घटना आउने गरेका छन् । भारतीय दलाल चौधरीले आफुले डेढ लाख लिएको र गोबिन्द थिङ भन्ने नेपाली दलालले डेढ लाख लिएको स्वीकार गरेपछि छोरी बेचिएको पुष्टि भएको कृष्ण बहादुरले बताए । अहिले छोरी बेचिएको भन्ने पुष्टि भएपछि उनलाई कसरी फर्काउने भनेर बुवा कृष्ण र आमा आइतीमाया भने बेचैन छन् ।
युनिकाले कुवेतमा आफू रहेको ठाउँको स्पष्ट ठेगाना भन्न सक्दिनन् किनकी घरबाट बाहिर निस्कने अनुमति नै छैन । त्यसैले युनिकाको नेपाल फर्काउने कसरी भन्नेचाहिँ अन्यौल भएको छ ।