बैशाख ११, २०८१ मंगलबार

बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै जलाउने प्रयास



विहार – भारतको विहारमा सोमबार साँझ चितामा राखेर एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । महिलाका भाइका अनुसार उनकी दिदीको कोखबाट बच्चा नजन्मेको आरोपमा घरका मान्छेले जिउँदै जलाउने प्रयास गरेका हुन् । यो घटना स्थानीय भोजपुर जिल्लाको सारीपुर गाउँमा भएको हो । सोन नदीको किनारामा पहिला महिलामाथि कुटपिट भएको थियो भने पछि जलाउने प्रयास भएको थियो ।

स्थानीय अखबार प्रभात खबरका अनुसार महिलाका भाइ गणेश ठाकुरले उनकी दिदीले बच्चा नजन्माएको भनेर घरमा बारम्बार मारपिट हुने गरेको थियो । उनलाई डरलाग्दो ढंगले कुटपिट गरिएपछि महिला बेहोस भएकी थिइन् ।


त्यसपछि उनलाई जिउँदै जलाउने प्रयास गरिएको थियो । यो घटनाको बारेमा प्रहरीले जानकारी पाएपछि तत्काल घटनास्थल पुगेर हस्तक्षेप गरेको थियो । महिलालाई प्रहरीले बेहोसीकै अवस्थामा चिताबाट उठाएको थियो । ती महिला स्थानीय रबीन्द्र ठाकुरकी पत्नी लक्ष्मी देवी हुन् । उनको उपचार अहिले स्थानीय आरा सदर अस्पतालमा भइरहेको जनाइएको छ ।

हिन्दुस्तान पत्रिकाका अनुसार प्रहरी अचानक पुगेपछि महिलालाई जलाउने प्रयास गरिरहेका मान्छे भागेका थिए । उपचारको क्रममा महिलाको होस खुलेपछि उनले आफ्नो नाम भनेकी थिइन् । प्रहरीका अनुसार लक्ष्मीदेवीको माइती स्थानीय बचरी गाउँमा रहेको छ । सो घटनापछि घरका मान्छे भने फरार रहेका छन् । ती महिलासँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।बयान लिएपछि नै सबैकुरा प्रष्ट हुने प्रहरीको भनाइ छ । केही मिनेट मात्रै प्रहरी पुग्न ढीला भएको भए लक्ष्मी जल्ने निश्चित रहेको स्थानीय बासिन्दाले बताएका छन् । (एजेन्सी)