चैत्र १५, २०८० बिहीबार

महिला हिंसाविरुद्ध आत्मरक्षा प्रशिक्षण फागुन १ देखि



चिप्लेढुङ्गा – महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । 

गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका प्रशिक्षक डा नमरजङ गुरुङले जानकारी दिए । 

हिंसा न्यूनीकरणका लागि महिलाको आत्मविश्वास बढाउन खेलकुदसँग जोडेर कार्यक्रम गर्न लागिएको गण्डकी प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष जगन गुरुङले बताए । उनका अनुसार १३ वर्षभन्दा माथिका छात्रा एवं महिलालाई लक्ष्य गरी प्रदान गरिने सो आत्मरक्षा प्रशिक्षणमा दक्षिण कोरियाका प्रशिक्षकको सहभागिता रहनेछ । 

आठ कक्षाभन्दा माथिका छात्रालाई लक्ष्य गरिएको सो प्रशिक्षणले मानव जीवनमा आइपर्ने घटनासँग तत्काल कसरी सामना गर्ने भन्ने विषयवस्तु समेटिएको छ । सो प्रशिक्षणमा झण्डै चार सय विद्यार्थी सहभागी हुने आयोजकको भनाइ छ । 

कार्यक्रममा विद्यार्थीबाहेक तेक्वान्दो, बक्सिङलगायत सबै मार्सल आर्ट खेलसँग सम्बद्ध १०० प्रशिक्षकलाई प्रशिक्षण दिइनेछ । त्यसका लागि कोरिया योमिङ युनिभर्सिटीका प्रा डा लिङ सङ गिल आदि रहेको ६ जनाको टोली पोखरा आइपुगेको जनाइएको छ ।