बैशाख २, २०८१ आईतबार

बन्दना राणा राष्ट्रसंघीय महिला समितिको उपाध्यक्ष निर्वाचित हुने पहिलो नेपाली



काठमाडौं – नेपालले पहिलोपटक संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने हिंसा निर्मुलन सम्बन्धी मामिला हेर्ने समिति (सेडा) को उपाध्यक्षमा प्रतिनिधीत्व गर्ने सौभाग्य पाएको छ । सेडाको उपाध्यक्षमा बन्दना राणा निर्वाचित भएसंगै नेपालले यो सौभाग्य पाएको हो ।

सोमबार अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा राणा सर्वसम्मतिले उक्त पदमा निर्वाचित भएकी हुन्।

एसिया प्यासिक ग्रुपलाई प्रतिनिधित्व गर्दै सन् २०२० सम्मका लागि राणा निर्वाचित भएकी हुन्। सेडा कमिटीमा एक अध्यक्ष र तीन उपाध्यक्ष रहने गर्छन्। उनीहरुको पदावधी दुई बर्षको हुन्छ।

राष्ट्रसंघको यो समितिको कार्यकारी पदमा नेपाली महिला पुगेको यो पहिलोपटक हो। राणा यसअघि २०१६ मा समितिकी सल्लाहकार थिइन।

साथी संस्थाकी संस्थापक रहेकी राणाले महिला र बालबालिकाको हकअधिकारको क्षेत्रमा काम गर्दै आएकी छिन्।

को हुन राणा ?
सिटको २०१७ को जुन २१ तारेखमा न्यूयोर्कमा भएको निर्वाचनमा १०६ मत ल्याएर सदस्य निर्वाचित भएकी राणा सिडमा पुग्ने पहिलो नेपाली हुन् ।

सन् १९८६ मा नेपाल टेलिभिजनमा अंग्रेजी समाचार पढ्ने नियुक्ति पाएकी बन्दना पहिला पत्रकार थिईन् । जहाँ समाचार शाखामा रिपोर्टिङ, सम्पादन, कार्यक्रम उत्पादन, समाचार वाचन, लाइभ रिपोर्टिङ समेत गरिन् ।

नेपालमा पत्रकार महिलाहरुको संस्था सञ्चारीका समूह गठन गर्ने संस्थापक बन्दना दुई कार्यकाल सञ्चारीकाको अध्यक्ष भइन्। त्यसपछि विभिन्न संघ संस्थामा रहेर काम गरेकी उनले सामाजिक क्षेत्रमा योगदान गर्दै राष्ट्रसंघ सम्म पुगेकी हुन् ।