चैत्र १५, २०८० बिहीबार

महिला स्वास्थ्यप्रति जनचेतना जगाउने ‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमायालाई



फाइल तस्वीर

काठमाडौँ – तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले जितेकी छिन् ।

आज प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी एक घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

उपाधिसँगै कान्छीमायाले रु ५१ हजार प्राप्त गरिन् । यसअघिका दुबै संस्करण समेत कान्छीमायाले नै जितेकी थिइन् ।

नेपाल प्रहरीकी राजपुरा पछाईंले निर्धारित दुरी एक घण्टा २४ मिनेट ३३ सेकेण्डरमा पूरा गर्दै दोस्रो भइन् । सशस्त्र प्रहरीकै पुष्पा भण्डारी तेस्रो भइन् ।

पुष्पाले निर्धारित दुरी एक घण्टा २७ मिनेट ३० सेकेण्डमा पुरेकी थिइन् । दोस्रो भएकी राजपुराले रु ३१ र तेस्रो भएकी पुष्पाले रु २१ हजार प्राप्त गरे ।

यसैगरी, १० किलोमिटरतर्फ एपिएफकी सन्तोषी श्रेष्ठ प्रथम, चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए ।

यो स्पर्धाका विजेताले रु ३१ हजार, दोस्रो हुनेले रु २१ हजार तथा तेस्रो हुनेले रु ११ हजार प्राप्त गरे ।

विजेता खेलाडीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिङ्काथन अभियान शुरु गरेका हुन् ।

पिङ्काथन भारतमा निकै लोकप्रिय छ । भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको प्रतियोगिता नेपालमा सन् २०१७ देखि शुरु भएको हो ।

यो प्रतियोगिता सन् २०१७ देखि लेजर पोर्ट नेपालले यो इभेन्ट नेपालमा गर्दै आएको छ ।

आजको प्रतियोगितामा करीब दुई हजार ५०० महिला सहभागी भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए ।