बैशाख ८, २०८१ शनिबार

अब प्रियंका र आयुष्मानले बाड्ने भए स्यानेटरी प्याड



खानेपानी मन्त्रालयले महिनावारी हुँदा महिलाले भोग्नु पर्ने समस्यासम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ। 

मन्त्रालय र आयंका फाउन्डेसनका तर्फबाट प्रियंका र आयुष्मानबीच भएको सहमतिअनुसार उनीहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो।

खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गरेकी छिन्। महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेसनले यो अभियान सुरु गरेको हो।  

मन्त्री मगरले महिलाले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारको भूमिका महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिइन्। उनले महिनावारी हुँदा महिलाले झेल्नुपरेका समस्याका विषयमा सबैले सकारात्मक सोच राख्नुपर्ने बताइन्।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले महिलालाई महिनावारीसम्बन्धी जनचेतना जगाउने विषयमा आयंका फाउन्डेसनले महत्वपूर्ण भूमिका खेल्नेमा मन्त्रालय आशावादी रहेको बताए। मन्त्रालयका तर्फबाट यो अभियान सफल बनाउन कुनै कसर बाँकी नराख्ने सचिव शर्माको भनाइ छ। 

कलाकार तथा अभिनेत्री प्रियंका र आयुष्मानको जोडीले आफैं ठाउँठाउँमा खटेर महिनावारीसम्बन्धी जनचेतना जगाउने प्रतिबद्धता जनाएको छ।

पहिलो चरणमा उनीहरुले धनुषाबाट यो अभियानको सुरुवात गर्ने घोषणा गरेका छन्। उनीहरुले ६ वटा महिला मैत्री शौचालय बनाउने र किशोरीलाई स्यानिटेसन प्याड समेत प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।