बैशाख ४, २०८१ मंगलबार

रविन्द्रलाई सम्झेर रोकिएनन् नविनाका आँशु:टुहुरो भएँ !



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ठूलो शोकमा छ । पार्टीका होनहार दुई जना नेता भरतमोहन अधिकारी र रविन्द्र अधिकारी गुमाउँदाको पीडा नेकपालाई मात्र होइन सिंगो देशलाई नै छ । 

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन ८२ बर्षको उमेरमा स्वास्थ्यका कारण भएको हो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेकपा केन्द्रीय सदस्य रविन्द्र अधिकारीको मृत्यु पनि पत्याउन सक्ने किसिमको छैन । 

ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका अधिकारी सबैका प्रिय थिए भन्ने कुरा उनको काठमाडौं र पोखरामा गरिएको श्रद्धाञ्जलिसभा र शवयात्राको उपस्थितिले नै देखाएको छ । काठमाडौंसहित पोखरामा भएको श्रद्धाञ्जलिसभा र उनको अन्त्येष्टिमा सहभागी भइ काठमाडौं फर्केकी नेकपा सांसद नविना लामासंग नेपाल आजले कुराकानी गरेको छ । ।

नेपाल आज संग कुरा गर्दे नेकपा सांसद नविना लामा

रविन्द्र अधिकारीको प्रसंग निकाल्नासाथ नविनाका आँखा आँशुले भरिए । उनलाई बोल्नै निकै कठिनभयो । बिद्यार्थी राजनीतिदेखि रविन्द्रसंग निकट सम्बन्ध रहेकी नविनाले रविन्द्रको सहयोगले नै आफू राजनीतिमा यहाँसम्म आइपुगेको बताइन् । उनले रविन्द्र नभएको भए आफू राजनीतिबाट उहिल्यै बिस्थापित भैसक्ने बताउँदै उनको निधनले आफू ‘टुहुरो’ भएको उनले बताइन् । 

रविन्द्र विकासवाद नेता

रविन्द्र अधिकारी बिद्यार्थी राजनीतिदेखि नै विकासमुखी नेता भएको नविनाको बुझाइ छ । अधिकारीले लेखेको ‘समृद्धि’ पुस्तक पढ्न पनि उनले सबैलाई आग्रह गरिन् ।सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको अभियानमा प्रतिबद्ध रहँदै अधिकारीले विकासका थुप्रै पूर्वाधारको योजना बनाएर लगभग आधा काम सकाइसकेको नविनाको दाबी छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री रहँदै गर्दा उनले देशका बिभिन्न स्थानमा बिमानस्थल निर्माणको काम मात्र नभइ संस्कृति र पर्यटन प्रवद्र्यनका क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताइन् । nepalaaja.comबाट