बैशाख ४, २०८१ मंगलबार

राष्ट्रपति भण्डारी पहिलोपटक अमेरिका जाँदै



राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनलाई सम्बोधन गर्ने भएकी छन् ।

‘कमिशन अन द स्टाटस अफ वुमेन’को ६३ औं सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरीका जाँदैछिन् ।

सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिएका छन्।

उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।

गत फागुन १३ गते संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४० औं बैठकमा सहभागी हुन जेनेभा पुगेका परराष्ट्रमन्त्री ज्ञवालीसँग उच्चायुक्त बेचेलेटले नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिको पनि खुलेर प्रशंशा गरेका थिए।

उनले जेनेभा बसाईको क्रममा परिषद बैठकमा सहभागी विभिन्न देशका समकक्षीहरुसँग द्धिपक्षीय भेटवार्ता गरी नेपालले मानव अधिकारको संरक्षणको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानबारे जानकारी गराइएको पनि बताए।

नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्य राष्ट्र हो। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डल परिषदको बैठकमा सहभागी भएर गत फागुन १६ गते स्वदेश फर्किएको थियो। आफ्नो सो भ्रमण सफल रहेको पनि मन्त्री ज्ञवालीको दावी छ।

त्यहाँ बसाईको क्रममा उनले स्विजरल्याण्डमा रहेका गैर आवासीय नेपालीहरुसँग भेट गरी राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्नु भएको थियो। मुलुकलाई समृद्ध बनाउने अभियानमा आफ्नो ज्ञान, सीप र पूँजी परिचालनका गर्न पनि त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरिएको पनि मन्त्री ज्ञवालीले बताए।