बैशाख ४, २०८१ मंगलबार

अन्तर्राट्रिय महिला दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना



आज १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । 

नेपालमा यसवर्ष ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार, समृद्धिको आधार’ भन्ने नारा तय गरिएकाे छ । 

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समिति गठन गरेर विभिन्न कार्यक्रम गर्दैछ । 

प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रम आयाेजना गरीएका छन् भने महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् । 

अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शुभकामना  दिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण संवेदनशील भइरहन प्रेरणा मिलोस भन्ने कामना गरेकी छन् ।

स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह पनि गरेकी छन् ।

“संविधानले सुनिश्चित गरेको महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनको थालनी गरिसकेको अवस्थामा यसलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ”, सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताए ।

उपराष्ट्रपतिले सन्देशमा भनेका छन्, ‘जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो ।

संविधान कार्यान्वयनसँगै जननिवर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु ।’

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् ।

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका छन् । ।

‘तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुशी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कूरीति चुनौतिका रुपमा रहेका छन् । तसर्थः हामीले धार्मिक ग्रन्थमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्नसक्नै पर्दछ’, प्रधानमन्त्रीले भनेका छन्, ‘हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्ब नगरी विभेदर कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाजनिर्माण गर्न सक्नुपर्दछ ।’

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गर्नुभएको छ ।

महिला र पुरुषबीच सारभूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहुँदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणमा सारभूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौती रहेको प्रधानमन्त्रीले बताएका छन् ।

सभामुख कृष्णबहादुर महराले पनि लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताएका छन् । 

सबैखाले लङ्गिक विभेद र असमानतालाई तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन सबैलाई श्रमिक महिला दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख महराले महिला दिवसले महिलाको हक अधिकारप्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु जरुरी रहेको बताएका छन् । 

महिला सशक्तीकरण, सकारात्मक विभेद, आरक्षण, विशेष संरक्षणका कार्यक्रममार्फत महिलाको चौतर्फी विकास गर्न जरुरी रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।