बैशाख १३, २०८१ बिहीबार

चार महिनामा ५६ जनाको बालविवाह



केन्द्रीय बालकल्याण समितिले चार महिनामा ५६ जना बालबालिकाको उमेर नपुग्दै विवाह भएको तथ्यांक सार्वजनिक गरेको छ । 

तथ्यांक अनुसार गएको असार देखि कार्तिक महीनासम्म कालीकोट, बाँके, सुनसरी र झापालगायतका नौ जिल्लामा १० जना बालक र ४६ जना बालिकाको बालविवाह भएको हो । कालीकोटमा सबैभन्दा बढी २६ जना बालबालिकाको बालविवाह भएको छ । 

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको आधारमा यो तथ्यांक संकलन गरिएपनि सार्वजनिक नभएका घटना धेरै भएको समतिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । 

१० जोडी बालबालिकाले उमेर नपुग्दै विवाह गरेका छन् । तथ्यांकअनुसार दुई बालिकाको अनमेल विवाह भएको छ भने ३४ जना बालिकाको वयस्क पुरुषसँग विवाह गराईएको छ ।

बालविवाह गर्ने ५६ जनामध्ये २६ जनाको अभिभावकले नै विवाह गरिदिएका छन् । १० जनाले आफूखुशी भागी विवाह गरेका छन् । २० वर्ष नपुग्दै भागेर विवाह गर्नेमध्ये धेरै सामाजिक सञ्जाल र फेसबुकमार्फत सम्बन्ध बनाएको उल्लेख छ ।

यस अवधिमा भएका ४६ वटा बालविवाहमध्ये १० वटा नेपाल प्रहरीबाट र चार वटा बालक्लबबाट गरी जम्मा १४ वटा बालविवाह रद्द भएका छन् ।

नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाटै हुने गरेको पाइएको छ ।‍