बैशाख ५, २०८१ बुधबार

पत्रकारको मनावैज्ञानिक ‘ट्रिट’: अफिसका गार्ड एसपी सा’प !



काठमाडौं – डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । नेपाल पत्रकार महासंघको डेलिगेसन थियो, प्रधानमन्त्री निवास बालुवाटारमा । गर्भवती अवस्थाकी एकजना पत्रकार महिलाले कुरा राखिन् – “महिलाहरुलाई ठुला मिडिया हाउसले ‘चाइल्ड केयर सेन्टर’ बनाइदिने व्यवस्था गर्नुपर्छ ।” उनको माग सुनेर महासंघका कतिपय पुरुष गलल्ल हाँसे ।

माग राख्ने पत्रकार थिईन महासंघकी उपाध्यक्ष यशोदा तिम्सिना । उनलाई चिन्ता थियो, बच्चा जन्माएपछि उनीसंगै धेरै पत्रकार महिला पत्रकारीता पेशाबाटै पलायन त हुनुपर्ने होईन ? तर अरुका समस्या मिडियामा उठाउने पुरुष सहकर्मीले आफू ‘प्रेगनेन्ट’ भएपछि कुरा राखेकोसम्म भने ।

समस्याको समाधानका लागि उनले ‘चाइल्ड केयर सेन्टर’को कुरा धेरै फोरमहरुमा यसरी उठाइन् कि यही कुराको आशामा पत्रकारीतामा निरन्तरता होस् । ‘बच्चा हेरेर बसेको भए पत्रकारीताबाटै म पनि पलायन हुन्थेँ’ उनी सम्झन्छिन् ‘बच्चा नजन्मदै हेर्ने र केयर गर्ने समस्या आउने र यस्ता समस्या अरुका पनि देखेपछि बच्चा हेर्ने निकाय स्थापनाको जरुरी देखें ।’

पत्रकार हुँदा समाचार मात्र होईन महिलाका मुद्धा समेत उठान गर्न डटेर लाग्ने उनै तिम्सिना हुन राष्ट्रिय सूचना आयोगको आयुक्त ।

समयको सदुपयोग गर्न खोज्दा पत्रकार

त्यसबेला उनी तेह्रथुमबाट काठमाडौं आएर पढ्दै थिईन । सानैदेखि अध्ययनमा रुची राख्ने उनी पत्रपत्रिका पनि पढ्थिन् । एकदिन गोरखापत्र पढ्दै गर्दा ‘मिडिया पोइण्ट’ नामक संस्थामा पत्रकारिता सिक्न चाहनेका लागि तालिमको सूचना देखिन् । दिउँसो कलेज जाने बिहान काम थिएन । बिहानभरी त्यसै बस्नुभन्दा दश महिनाको कोर्ष सिक्न पाइन्छ भनेर फारम भरिन् ।

पत्रकारिता सम्बन्धि १० महीने तालिम सकेकी मात्र थिईन, कामना प्रकाशनले महानगर नामक साँझमा निकाल्ने अखवारका लागि संवाददाता माग्यो । ३० जना आवेदकमा तीनजना छानिए । नियुक्ति भएर काम गर्दा गर्दै भारतमा पत्रकारीताको थप अध्ययन गर्न जाने अवसर मिल्यो ।

जीन्दगीमा पत्रकार बन्छु भनेर कल्पना समेत नगरेकी तिम्सिनाको बाटो त्यसपछि भने पत्रकारितातिर सोझियो । “पत्रकार हुन होइन कि जागिर खाँदै गरम न त भनेर त्यहाँ एप्लाई गरें, काम पाइयो”, उनी भन्छिन् “दुई बर्ष जति भएको थियो पत्रकारिता गरेको, इन्डियन इन्स्टिच्यूट अफ मास कम्युनिकेसनमा पढ्न पाउनु पत्रकारिता तर्फको यात्रा तय हुनु थियो ।”

सानै देखि निडर, हकी र पढैया स्वभावकी उनी जहाँ अवसरहरु हुन्थे त्यहाँ आफै पुगेर चुनौती फेस गर्थिन् । आज भन्दा २० वर्ष अघि, त्यो बेला उनी भर्खर स्नातक गर्दै पत्रकारिता सिक्दै थिइन ।
त्यही बेला भारतीय दुतावासले भारतमा पत्रकारिता अध्ययनका लागि पठाउने थाहा पाईन । र, दुतावास पुगेर आफूलाई पठाउन अनुरोध गरिन् ।

“सरकारी मिडियामा काम गर्ने सिनियर, कसै न कसैको सोर्स चाहिने, त्यस्तो मान्छे जाने कोर्समा आफै गएर मलाई पठाउनुस भन्न पुगेको त ‘एम्वेसी’का द्वितीय सेक्रेटरी अखिलेश मिश्र चकित भए” त्यो बेलाको घटना सम्झँदै तिम्सिना भन्छिन् “एउटा केटी सिक्छु भन्दै आएकी छ, उसको ‘क्राइटएरीया’ त पुग्दैन, तै पनि म उसलाई पठाउछु है भनेर सबैका सामू भनेरै पठाए ।”

आठ महिना भारत बसेर फर्केपछि भने बल्ल उनले ‘मेरो क्षेत्र पत्रकारिता नै हो’ भनेर चुनिन् ।
पढेर फर्केपछि महनगर दैनिकमै पाँच/छ महिना काम गरिन् । कान्तिपुर पब्लिकेसन्सले नेपाल म्याजजिनको लागि पत्रकार आवश्यकता माग्यो । पाँच सय जनाको निवेदन परेको थियो । प्रतिस्पर्धाबाट उनी लगायत तीन जना पत्रकार छानिए – राजाराम गौतम, धुब्र सिंखडा । सम्पादक थिए, विजयकुमार पाण्डे । शुरु हुनुभन्दा ८ महीना अघिबाट काम गर्न थालेकी उनले नेपाल म्यागेजीनमा १८ वर्ष काम गरिन् ।

सम्पादक विजयकुमार टेलिभिजनबाट आएका र बाँकी ३ जना भर्खर पत्रकारिता सिक्दै गरेका । पाक्षिक म्यागेजीन छाप्न भारत पठाउनु पर्ने । उनले त्यहाँ निकै संघर्ष गरिन् । त्यही संघर्षले खारिएर उनी व्यावसायिक रुपमा सफल भइन् । विजयकुमारबाट धेरै कुरा सिकेको उनी बताउँछिन्।

त्यो नलेखेको समाचार, अहिले नि दुःख लाग्छ

२०६० सालमा रुकुम जाँदा एकजना महिलाले हुलाकीको रुपमा काम गर्ने आफ्नो छोरालाई सरकारले माओवादीको आरोपमा जेल हालेको भन्दै छुटाईदिनका लागि गरेको आग्रह उनको मानसपटलमा झल्झली आउँछ ।

“रुकुममा ती आमैले मेरो छोरो निर्दोष हो पत्रकारले त छुटाईदिन सक्छ्यौ होला नि त भनेर सोध्या कुरा सम्झीरहन्छु”, उनी भन्छिन्, “तीनको त्यो छोरा छुट्यो होलान् कि ? मैंले तिनका छोराको समाचार बनाउन सक्थें त्यो नगरेकोमा अहिले नि दुःख लाग्छ ।”

मनावैज्ञानिक ‘ट्रिट’ गर्न गार्डलाई फोन गरेर एसपी सा’पको बाहना

पत्रकारिता क्षेत्रमा अहिलेसम्म पनि महिलाहरु माथिल्लो पदमा पुग्न सकेका छैनन् । उनको भोगाइमा यसका धेरै कारण छन ति मध्ये सुरक्षा र विश्वास पनि थपिएको छ, ती चुनौतीको चाङ्मा । जसका केही उदाहरण उनी यसरी सम्झन्छिन् । –
‘म काम गर्ने नेपाल म्यागजीनको अफिस तीनकुनेमा । बस्ने चाहीँ कलंकीमा । म्यागजीन फाइनल गर्ने बेलामा रातीसम्म काम हुन्थ्यो । ११ बजे गाडीले घरसम्म पुर्‍याउने व्यवस्था भएपनि नौ बजे चाहीँ मेरो काम सकिने । अपिसको गाडी कुरेर बस्यो भने ९ देखि ११ बजेसम्म त मेरो दुई घण्टा त त्यत्तिकै खेर जाने भयो भनेर म ट्याक्सी लिन्थेँ र अफिसको गार्ड दाइलाई मेरो ट्याक्सीको नम्बर लिइराख्न लगाउथेँ । अनि बाटोमा मलाई यहाँ गेटमा भएको नम्बरबाट फोन गर्नु है भनेर सिकाउथेँ । बाटोबाट त्यो गार्ड दाइलाई फोन गर्ने अनि डिएसपी सा’प आराम हजुर ? एसपी सा’प आराम हजुर ? भनेर भन्थेँ । त्यो मनोबैज्ञानिक ट्रिट गरेको के मैले । यसको त यत्रो यत्रो मान्छेसंग चिनजान रहेछ, कुराकानी हुने रहेछ भन्ने बनाउनलाई । उसो त हुने कुरालाई कसले पो रोक्न सक्थ्यो र ? त्यही पनि मलाई के लाग्थ्यो भने यत्रो मान्छे संग यसको कुरा हुँदो रहेछ भनेर सोचोस् ड्राइभरले भनेर म त्यसरी फोन गर्थें । घर पुगेपछि मात्रै अनि म पुगे भनेर जानकारी गराउथेँ गार्ड दाईलाई । त्यो भनेको त अफ्ठ्यारो अवस्था हो नि । तर त्यसो नगरेर रातीमा आउजाउ कसरी गर्नु भनेर चुप लागेर बसेको भए त म पत्रकार हुने थिइन ।’
उनको पत्रकारिता यात्रामा यस्ता चुनौतीहरु धेरै आए । “तर मान्यता यो छ की यी र यस्ता अफ्ठ्याहरु चाँही आफैले समाधान गर्नु पर्छ”, उनी भन्छिन्।

घरबाट आएका शंका र अप्ठ्याराहरु पनि उनले यसैगरी समाधान गरेकी छन् । रिपोर्टिङ्ग गर्न अरुको सहारामा पुगेको घटना । एकचोटी उनलाई सिन्धुपाल्चोकको इचोक भन्ने ठाउँमा सबैभन्दा बढी केटी बेचिन्छन् भनर रीपोर्टिङ्ग गर्न जानुपर्ने भयो । मेलम्चीबाटै हिडैरै एक दिन लाग्थ्यो माथि पुग्न । त्यसैले उनको आमाले दाइलाई साथी पठाइन् । दाजुले पनि पैसा तिरेर अर्को महिला खोजेर पठाए ।

“आमाले अह्राए अनुसार दाई र म भएर मेलम्ची गयौँ । दाइले मेलम्चीबाट गंगा दुलाल भन्ने एक जना महिलालाई बहिनीलाई माथि गाउँमा पुर्‍याई बेलुकी यहीँ बास बसाएर भोलि गाडीमा पठाइदिनु भनेर फर्के । भोलिपल्ट बेलुकीको गाडी चढाइदिएर म आएँ” तिम्सिना सम्झन्छिन् “त्यसको पाँच/छ महिनापछि तालिमको लागि जर्मनी जाने बेला आमालाई अस्ती सिन्धुपाल्चोक त दाइ पठाउनुभयो । जर्मनी कसलाई पठाउने भनेँ ।”

त्यो पनि उनको परीवारका लागि मनोबैज्ञानिक ट्रिट थियो, आफ्नो ठाउँमा साथी पठाउनु पर्ने अनि अर्काको ठाउँमा चाँही एक्लै पठाउने भन्ने विषयमा । “त्यसपछि सम्भव नभएको कुरामा लाग्नुको साटो अस्ती पनि मलाई आफै जान दिएको भए हुन्थ्यो । आफ्नो सुरक्षा आफैँ गर्न पर्छ । ठिकै भो एकचोटी पठाउनुभो अब पर्देन भनेर आमालाई सम्झाउन पाएँ ”, उनले भनिन् ।

अफिसकै कम्प्यूटरमा पोर्न भिडियो भेटेपछि सम्पादकसंग आक्रोस

महिलाहरु घरदेखि कार्यस्थलसम्मै हिंसा भोग्नु पर्ने घटना अहिलेसम्म त रोकिएको छैन । उ बेला झन् धेरै थियो । त्यस्ता हिंसा उनले धेरै नभोगेपनि सानोतिनो अनुभव भने छ । एकदिन अफिस जाँदा उनले प्रयोग गर्ने कम्प्यूटरमा पोर्न दृष्यहरु राखिएको रहेछ । कम्प्युटर ‘अन’ गर्नासाथ देखियो । त्यसपछि उनले सम्पादक किशोर नेपालकहाँ पुगेर आक्रोश पोखिन् ।

“मैले सिधै कम्प्युटर बन्द गरेर उहाँकोमा गएर टेबुलमा ड्याङ्ग हात राखेर मेरो कम्प्यूटर कसले चलायो भनेर आक्रोश पोखेँ । अनि उहाँले केटा साथीहरुलाई बोलाएर छलफल गराउनुभयो” उनी भन्छिन् “त्यसपछि मैले सुनेको कान्तिपुरमा त्यस्ता पोर्न साईटहरु नै खोल्न नमिल्ने भयो रे । सम्पादकले केटाहरुलाई भन्नुभएछ ‘होसियार हुनु । यो ठट्टा गर्ने मान्छे होइन । आइन्दा यस्तो सुन्न नपरोस’ भनेर निर्देशन नै दिनुभएछ ।”

पछि केटा साथीहरुले सुनाएका थिए । त्यो बाहेक उनले १८ वर्ष काम गर्दा कुनै हिंसा भने भोग्नु परेन । नेपाल मा काम गर्दा अधिकांश वर्ष उनी मात्रै महिला थिइन् । किशोर नेपाललाई उनी आदर गर्छिन् । नेपालले पनि उनलाई ‘जुनियर कलिग’ को रुपमा सधै सम्मान गरे ।

पत्रकार महिलालाई टिप्स ‘बच्चा जन्मेपछि बुक रिभ्यु गर्नू’

महिलाहरु प्रायः बिहेबारीपछि, बच्चा जन्मेपछि पत्रकारिताबाट ओझेल पर्छन्, पेशा छोड्छन । तर उनलाई भने आफ्नो अनुभव सुनाएर सिकाउन मन छ । त्यो के भने बच्चा भएको बेला किताव पढ्ने । बुक रिभ्यु लेख्ने र पैसा कमाउने । पत्रकारिता नछोड्ने ।

“एउटा रिभ्युबाट आएको पैसाले अर्को बुक किन्ने, अर्कोबाट अर्को । मैले त्यहि गरें’ उनि भन्छिन् “यसले पत्रकारीता छाड्न पनि परेन, बच्चा हुँदा समस्या भयो भन्ने पनि भएन ।”

यसमा उनी थप्छिन् “आमा हुने अधिकार महिलालाई नै प्राप्त भएको कारणले गर्दा थोरै त कन्सिडर पनि गर्नुपर्छ । त्यो नै करियरको बाधक हो, अब म निस्कन सक्दिन भन्नेचाहीँ हुन्न । मिलाएर, घरकोलाई सम्झाएर, आफन्तलाई भनेर, पालो गरेर भएपनि बाहिर निस्कनुप¥यो ।”

उनलाई आमा र भाउजूले धेरै सहयोग गरे बच्चा हुर्काउन । तर बच्चाको आमा भईसकेपछि कार्यक्षेत्रमा पनि बच्चाकै सुर्ता हुने कुराले भने उनलाई पिरोलेकै हो । अझै पनि ठूला मिडिया हाउसले ‘चाइल्ड केयर सेन्टर’ खोल्नुपर्छ भन्नेमा म अडिग छन्।

“अफिस जान थालेपछि कम्यूटरमा काम गरिरहेको हुन्छु, घरमा सहयोगीले बच्चा ड्याङ्ग भुईंमा खसालेको झल्को आउने” उनि भन्छिन् “अनि जुरुक्क उठेर जानुपर्थ्याे घरमा । त्यसैले बच्चा हुर्काउन केयर सेण्टरहरु हुनुपर्छ भनेको ।”

हरेक क्षण खुसी हुन खोज्नेलाई नगरेको काम गरेको हो भन्दा दुःख लाग्छ

जीन्दगीमा खुसी हुनका लागि ठूलै उपलब्धी हुनुपर्छ भन्ने छैन, त्यसैले उनी सानो सानो कुराले छिनमै खुसी हुन्छिन्। “मलाई खुसी हुन ठूलो कुरा चाहिँदैन, हरपल खुसी हुने प्रयास गर्छु” उनी भन्छिन् “दुःख देखाएर त्यसले झन दुःख नै ल्याउँछ भन्ने लाग्छ । अनि म भरसक खुसी नै हुन प्रयास गर्छु ।”

खुसी नै खुसी खोज्ने उनलाई आफूले नगरेको कुराको आरोप लगाउँदा भने दुःख लाग्छ । “जुन कुरामा म संलग्न नै हुँदैन त्यो कुरा तिमीलाई थाहा हुनुपर्छ, तिमीले नै ग¥या हुनुपर्छ भन्यौ भने म एकदमै दुःखी हुन्छ” उनी भन्छिन् “तर म खुसी रहन खोज्ने भएको त्यो दुःख छिनमै विर्षन्छु ।”
उनलाई लाग्छ – जसलाई विश्वास गर्‍यो बदलामा नि विश्वास नै फलोस् । तर आजकल विश्वास र भरोसा भन्ने कुरा बोलीमा बढी, व्यबहारमा कम भए जस्तो लाग्छ । “त्यसले झन् दुःखी बनाउँछ”, उनी भन्छिन् ।
मानव चोला लिएर जन्मेपछि मृत्य् शाश्वत सत्य हो । यति जान्दाजान्दै पनि ५० वर्ष नपुग्दै युवा नेता रविन्द्र अधिकारीको असामयिक मृत्युले उनलाई ठूलो दुःख लागेको छ । “म साह्रै दुःखी छु । उनले देशमा अझैं धेरै गर्न सक्थे भन्ने मेरो विश्वास थियो ”, उनी भन्छिन् ।

बिबाह सम्झौता हो, के पाएँ के गुमाएँ हिसाव गर्नु हुँदैन
उनको बिबाह अलि ढिला भयो त्यो समयको चलन भन्दा । किनकी उनी बिबाह गर्ने मुडमा थिइनन् । “तर समाज र घरको बिहे गर्नै पर्छ भन्ने कारणले गरें” उनको अनुभव छ “तर एउटा उखान पनि छ ‘सादीका लड्डु जो खाएगा वो पछुताएगा, जो नहीं खाएका वो भि पछुताएगा’ त्यसैले यो त कम्प्लीट लाइफको एउटा पार्ट पनि हो रहेछ ।”

उनको बिबाह भने लभ एण्ड एरेन्ज हो । त्यसलाई उनी मिक्स भन्छिन – “हामी पहिला संगै काम गरेको । तर डेटिङ्गवाला पनि हैन, अपरीचित पनि होइन ।”

बिबाह पछि उनलाई एउटा कुराको महसुस भयो कि पत्रकार महिलाहरुलाइ बुझ्ने पत्रकार नै हो रहेछ । उनका श्रीमान लेखनाथ अधिकारी पनि पत्रकार नै हुन् । “एउटै पेशाको मान्छे भएकोले अरुको तुलनामा सहज छ” उनी भन्छिन् “हामी दुबै ब्यस्त भएकोले धेरै यस विषयमा कुरा गर्ने टाईमपनि छैन । कुनै अप्ठ्यारो पनि छैन ।”

उनको अनुभवमा बिबाह भनेको सम्झौता हो, जहाँ संयोगबस भेट भएर फरक फरक व्यक्तिका छोराछोरी मिलेर बस्छन् । ‘त्यसलाई सफल बनाउन त्यो सम्झौतामा के गुमाए के पाएँ भनेर हिसाब गर्नु हुँदैन’ उनको बुझाइछ “त्यहाँ एक अर्कालाइ सम्मान गर्नुपर्छ ।”

सासुको खुट्टामा तेल लगाउनुपर्छ, तर भान्छामा जीन्दगी बिताउनु हुँदैन

प्राय जागिरे बुहारीहरु परीवारमा राम्रो सम्बन्ध बनाउन सक्दैनन भन्ने आरोप लाग्छ । कतिले समय म्यानेज गर्न सक्दैनन र कतिले सम्मान दिएर रिझाउन सक्दैनन । पारिवारीक जीवनको विषयमा उनको भने गतिलो सूत्र छ “सासुको खुट्टामा तेल लगाउने तर भान्छामै जीवन नबिताउने । किनकी धेरै महिलाहरु भान्छाको काम गरेर आफ्नो जीवन खेर फालिरहेका छन् ।”

एकपटक सामाजिक सञ्जालमा बुहारीले सासुको खुट्टामा तेल लगाउने विषयमा बहस भएको थियो। त्यहि विषयमा पनि उनले तेल लगाउनुपर्ने धारणा राखेकी थिईन ।

“त्यो गर्दा एक त सासुले सित्तैमा तपाईँको विज्ञापन गरीदिन्छन्, दोश्रो नम्बरमा आफ्नो हातमा तेल लगाएर बस्न नभ्याउनेहरुको पनि सासुलाई तेल लगाएबापत आफ्नो हात पनि मसाज भईरहेको हुन्छ । तेश्रो नम्बर तेल नै लगाउने बुहारीको सम्वन्ध सासुसग त के बिग्रेला र ? हरेक दिन तेल लगाउने बुहारीसंग कति पो टाढा हुन्छ ? झन झन नजिक हुन्छ, छोरो भन्दा बुहारी नजिक हुन्छ । कुरा सेयरीङ्ग हुन्छ । घरमा राम्रो वातावरण हुन्छ” उनि भन्छिन् “कतिपय महिलाहरु भन्छन त्यसो भए श्रीमानले मेरो बाउ आमालाई तेल लगाउँछन त ? अव तेलै लगाउने खोज्नु हुँदैन के । उनले रेस्पेक्ट गरे, केयर गरे । अप्ठ्यारो पर्दा हेल्प गरे भने विस्तारै पछि परीवर्तन हुन्छ । अब बिरामी भएको बेला, आफूले नसक्दा तिनै सासुले लगाउन आउँछिन नि तेल । आफूले लगाउन थालेपछि । त्यसकारण बराबर हुनका निम्ति पुरुष नै हुने हैन ।”

त्यसैले सम्मान दिने व्यबहारले घरको वातावरण राम्रो हुन्छ भने त्यो राम्रो काम भएको उनको बुझाई छ ।

महिला आफै हिरा हुन्, गहना लगाउनु पर्दैन

महिलाहरु समाजमा पछाडि पारिएका छन् । माथिल्लो पदमा पुग्न गाह्रो छ । तर कतिपय महिलाहरु पदमा पुगेपछि खर्चको विषयमा विवादमा आउनाले विश्वास गुमाएको तर्क गर्छिन उनी।

केही पदमा पुगेका महिलाहरुको चासो र चिन्ता गहना, राम्रो खालको गाडीतिर लाग्नाले त्यस्तो वातावरण बनेको उनको भनाई छ ।

“उनीहरुलाई म के भन्छु भने पद आफैमा ‘डायमण्ड’ हो किनकी सामान्य महिलाहरुले २/३ लाखको ‘डायमण्ड’ लगायो भने कसैले ‘डायमण्ड’ भन्दैन् तर पदमा पुगिसकेको महिलाले सामान्य कुरा लगाउँदा पनि डायमण्ड लगाउँदा पनि डामण्ड जस्तो भैगयो नि”, उनि भन्छिन् “त्यसैले पदमा जिम्मेबारी निर्वाह नगर्ने, त्यो महंगो खर्च किन गर्नुपर्‍यो ?”

उनको भनाइमा नीति निर्माण तहमा पुगेको महिला अझ गम्भिर भएर रोलमोडल हुनुपर्छ । “त्यो काममा मात्रै होइन, लवाई खवाई र रहनसहनमा पनि” तिम्सिना भन्छिन् ।
उनका अनुसार सबै पुरुष पद पाउनासाथ सफल भएका होइनन्, सबैजनाले राम्रो काम गरेका पनि छैनन । तर महिला थोरै भएकोले सानोतिनो गल्ती गरेपनि छिट्टै ‘नोटिस’ हुन्छ ।

“त्यसैले जुन नीति निर्माण तहमा पुगेको महिला हुन्छ त्यो अझ गम्भिर भएर जिम्मेबार किन हुनुपर्छ भन्दा आउनेहरुका निम्ति पनि उनी रोलमोडल हुनुपर्छ”, उनी भन्छिन् “किनभन्दा पितृसत्तात्मक हो नि त हाम्रो समाज, त्यो चिर्नका लागि पनि अगुवा महिलाहरुले अलिकति आफूलाई ‘सेक्रीफाईस’ गर्नुपर्छ । के मामला भन्दा उसले आफूलाई अब्बल देखाउन, अपडेट हुने, त्यसमा लाग्ने गर्नुपर्छ ।”

पुरुष कर्मचारी वा नेताले गल्ती गर्दा त्यो महिलाले गर्दा बिग्रेको हो, भनेर आरोप लगाउने प्रबृत्ति भएकोले पनि यसबारे महिला बढी सचेत रहनुपर्ने उनको सुझाव छ । तर यसरी महिलालाई पुरुषले यसरी महिलालाई लगाउने आरोप गलत भएको उनको तर्क छ ।

“महिला कति पढेकी १० पढेकी, पुरुष कति पढेको २÷३ विषयमा मास्टर्स गरेको । पुरुष के गर्छ ? जागिर, मन्त्री भएको,” उनी भन्छिन् “त्यस्तो पुरुषलाई महिलाले विगार्न सक्छ ? एक चड्कन हान्नु पर्दैन, बिगार्न खोज्दा ?”