चैत्र १६, २०८० शुक्रबार

टेलिभिजनमा गल्ती बोलेकी कोमल वलीले संसदमा माफी मागिन्



काठमाडौं – एक टेलिभिजन अन्तरवार्तामा प्रयोग गरेको उखानका कारण विवादमा तानिएकी राष्ट्रियसभा सदस्य कोमल वलीले माफी मागेकी छन् ।

‘मरेपछि … राजा’ भन्ने उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएपछि ओलीले संसद बैठकबाटै माफी मागेकी हुन् ।

‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ ।

मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले भनिन् ।

आफूले कुनै विचार नपुर्‍याई उखान प्रयोग गरेको भएपनि देशका सबै जाति र समुदायप्रति आफ्नो उच्च सम्मान रहेको वलीको भनाई छ ।

‘मेरो मष्तिश्कमा तत्कालिन समयमा यसले पुर्‍याउने हानी यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्‍याउन सक्छ भन्ने कल्पनासमेत थिएन ।

यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकतामात्र थियो’ उनले भनिन् ।

आफूले आकस्मिक रुपमा प्रयोग गरेको उखानको विषयलाई इस्यु बनाएर आफूमाथि झन् ठूलो प्रहार भएको वलीको भनाइ छ ।

‘जसले मैले भनेको शब्दबाट आफ्नो मन दुखेको बताउनुभएको छ उहाँहरुबाटै म माथि त्यो भन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सञ्जालमा भेटेकी छु’ उनले भनेकी छन् ।