बैशाख २, २०८१ आईतबार

७२ वर्षमा नागरिक भइन् धनसरी, सुत्केरीलाई पनि गाउँमै नागरीकता



गाउँमै नागरिकता टोली पुगेपछि जाजरकोटको दुर्गम बारेकोटमा ७२ वर्षीया ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् ।

बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।

त्यस्तै बारेकोट–४ करुकाकी तीन दिने सुत्केरी १८ वर्षीय देवीका बस्नेत थापाले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाइन । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले उनीहरुलाई नागरिकता प्रमाणपत्र दिए । पहिलो पटक डिजिटल प्रविधिबाट शिविरमा नागरिकता वितरण गरिएको खतिवडाले बताए ।

जीवनको उत्तरार्धमा ७२ वर्षको उमेरमा पहिलो पटक घरजनिकै नागरिकता लिन पाउँदा धनसरी निकै हर्षविभोर भइन् । सदरमुकाम जान तीन दिन हिँड्नुपर्ने बाध्यता, आफै हिँडेर जान नसक्ने, सदरमुकाम लगिदिने मानिस नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले पहिले बनाउन नपाएको उनले बताइन् ।

समयमा नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता र चुनावमा भोट हाल्नबाट समेत वञ्चित हुनुपरेको उनले गुनासो सुनाइन । घर नजिकै नागरिकता वितरण गर्ने टोली आएको जानकारी पाएपछि तीन दिनकी सुत्केरीले पनि नागरिकता लिएकी हुन् । उनले भनिन्, “घण्टौँ हिँडेर सदरमुकाम गएर नागरिकता लिनुपर्ने झण्झट हटेको छ । म निकै खुशी छु ।”

त्यस्तै, बारेकोट–४ जिरीकी ६९ वर्षीया अविवाहिता महिला पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाउँदा निकै खुशी भएकी छन् ।

माइतीमै एकल जीवन बिताउँदै आएकी उनले समयमा नागरिकता नबनाउँदा लामो समयदेखि सामाजिक सुरक्षा भत्तासमेत पाउनबाट समेत वञ्चित हुनुपर्यो । पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि उनले आफ्नो वषौंदेखिको अधुरो धोको पूरा भएको बताइन् ।

दुर्गमका जनतालाई घर आँगनमै सरकारी सेवा प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपाङ्गता परिचयपत्र वितरण, घरेलु उद्योग दर्ता लगायतका सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । शिविर एक सातासम्म सञ्चालन हुनेछ ।