बैशाख ३, २०८१ सोमबार

गर्भ देखि नेता हुँदासम्म महिला हिँसा : भिरबाट घचेट्नेदेखि टिकट नदिनेसम्म



सन्तोषी (नामपरिवर्तन) वाग्लुङको पहाडी गाउँमा हुर्किइन । सात कक्षामा पढ्दा पढ्दै गाउँमा बाल विवाह भयो । १४ वर्षमै छोरी जन्माइन् । तर त्यसपछि दाइजो नल्याएको र छोरी जन्माएको निहुमा उनीमाथि पति र परिवारका सदस्यले कुटपिट शुरुगरे ।

यो त उनको देखिने हिँसा हो, आन्तरीक पिडा सुन्दा त आङ सिरीङ्ग हुन्छ । “ओछ्यान पर्दाको पीडा त खै कसरी सुनाउँ खै, गर्भ बोकेको बेला समेत पतिले छाड्नु भएन”, उनी भन्छिन् “पोषणको अभावले पेटको बच्चा जोखिममा थियो नै, यौन हिंसाको सास्तीले झन तनाव दियो ।”

दोस्रो गर्भ छोरी रहेको थाहा पाएपछि अस्पतालमा गर्भपतन गर्न जाँदा श्रीमान अस्पतालबाटै भागेको सन्तोषीले बताइन् । “पतिसँगै घाँस काट्न जाँदा भिरबाटै धकेलिदिनुभयो”, गाउँलेले उद्धार गरी अस्पताल पु¥याएर शल्यक्रियाबाट दोस्रो छोरीको जन्म भएको उनले बताइन् ।

हिंसा सहन नसकेपछि अहिले उहाँ पतिसँग छोडपत्र गरी छोरी पाल्न काठमाडौंको एक दोहोरी गाएर जीवन निर्वाह गरीरहेकी छन् ।

देवु पराजुली जन्मेको पाँच वर्षमा पोलियोको शिकार बनिन् । एक्लै हिँड्डुल गर्न नसक्ने उनलाई बुबाले बोकेर स्कुल पु¥याउँथे तर छरछिमेकीले भन्थे, “यस्ती डुँडीलाई किन पढाउनुप¥यो ?” शारीरिक अशक्तताकै कारण उनी शारीरिक र मानसिक हिंसामा परिन्।

“अहिले पनि मलाइ मेरो दक्षता र सीप हैन खोच्याएको खुट्टा हेरेर व्यवहार गरिन्छ,” पराजुलीले भनिन्, “जागिर खान जाँदा खुट्टा हेरेरै दिदैनन् ।”

सामाजिक सञ्जालमा सुन्दर मुुहार देखेर साथी बन्ने तर भेटेपछि सहानुभूति देखाउने र हिंसा गर्न खोज्नेहरू धेरै रहेको उनको पीडा छ ।

यी दुई घटना त प्रतिनिधी घटनामात्र हुन् । सर्वसाधारण महिलाका । धेरैलाई लाग्न सक्छ – महिला हिँसा यस्तै सर्वसाधारण महिलालाई त हुने हो ।

तर घटनाहरु हेर्दा त्यो सोँचाई गलत हुन्छ । उच्च तहमा पुग्नेहरुका पनि घरभित्र देखि कार्यस्थलसम्म महिलाका यस्ता पिडा धेरै छन् । जुन सार्वजनिक हुन सकेका छैनन् ।

ललितपुर १५ की वडा सदस्य शशिकला सुवेदी स्थानीय सरकारको प्रतिनिधि हुन् । तर उनले भोगेको विगत भने अहिलेको जस्तो सुखद छैन । सानै उमेमा मामाघर पढ्न बसेकाबेला आफन्तबाटै यौन दुव्र्यवहारमा परिन् । डेरा, अस्पताल, स्कुल जतासुकै हिंसा गर्नेहरू रहेको उनको भनाई छ ।

महिला हिँसाको घटना हेर्दा आम महिला र उच्च पदमा पुगेकाको पीडाको स्वरुप फरक रहे पनि महिलामा पर्ने असर भने उस्तै छ ।

विविध चुनौती झेल्दै सांसद बनेका महिला पनि हिंसामुक्त छैनन्। बर्दियामा हुर्कनु भएकी सांसद बिमला बि।क।लाई गाउँमा दलित भनेर हेपिनुप¥यो । “पढाइमा अब्बल हुँदा समेत सरस्वती पूजा गर्न दिइँदैनथियो”, उनले भनिन् ।

घर भित्र मात्र होइन, महिलाहरु सडक, सार्वजनिक यातायात, कार्यस्थल, एकान्त स्थलमा सँगै सबैतिर हुनेगरेको भएपनि धेरै घटना सार्वजनिक हुन सकेका छैनन् ।

सांसद् हुनकै लागि प्रत्यक्षको चुनाव लड्न टिकट माग्दा ठूला नेताले विश्वास नगरेको सुवेदीको दुःखेसो छ । क्षमता भएर पनि त्यसको उपयोग गर्न नपाउनु मानसिक र वौद्धिक हिंसा भएको उनले बताइन् ।

सांसद अञ्जना विशंखे पुरुष सांसदले दिने पीडा सम्झेर एक सार्वजनिक कार्यक्रममै भक्कानिइन् ।
छुवाछुत तथा भेदभाव सम्बन्धी ऐन संसोधन गर्नेबेला पुरुष वर्चस्वको समितिमा फरक व्यवहार प्रदर्शन गरिएको गुनासो उनको छ ।

“केही सुधार गरौँ भन्दा आफै हिंसामा परिन्छ” उनले भनिन् । कानून बनाउने निकायमै यस्ता हिंसा हुँदा आम महिलाले पाउने न्यायमा गम्भीर असर पर्ने सुवेदीको भनाई छ ।

महिला आयोगको तथ्याङ्क हेर्ने हो भने पनि आर्थिक वर्ष २०७४/७५ मा ७६६ घरेलु हिंसाको उजुरी परेका थिए । अन्य महिला हिंसातर्फ भने ७२ वटा उजुरी परेको थियो ।

आयोगका सहसचिव युवराज सुवेदीले उजुरीको आधार विश्लेषण गर्दा ८५ प्रतिशतसम्म घरेलु हिंसा र १५ प्रतिशत अन्य हिंसा खेप्न महिला वाध्य देखिएको बताए ।