‘समृद्ध समाजका लागि धर्मको नाममा हुने विभेद र हिंसाबारे बोलौं’

डा.अरुणा उप्रेती / चैत्र ४, २०७५ - सोमवार


धर्म र परम्पराका नाममा हुने सबै खाले विभेदलाई अस्वीकार गर्न सके मात्र समाज अगाडि बढ्न सक्छ। यसका लागि महत्वपूर्ण भूमिका सम्बन्धित धर्मका अगुवाहरूले नै निर्वाह गर्नुपर्छ।

१७ वर्षअघि अफगानिस्तानमा छँदा शक्तिमा रहेका वा सत्ता प्राप्तिका लागि प्रयत्नशीलहरूले धर्मलाई आफू अनुकूल व्याख्या गरी आम मानिसको जीवन कष्टकर बनाएको देखेकी थिएँ । समाजका शक्तिशालीहरूले धर्मका आडमा आफ्ना कुकृत्य लुकाउँदै कमजोरमाथि कसरी प्रहार गर्छन् भन्ने उदाहरण थियो त्यसबेलाको अफगानिस्तान ।

म राजधानी काबुलबाट करीब ८०० किलोमिटर पश्चिमको शहर हेरातमा थिएँ । साहित्यमा रुचि भएकी स्थानीय प्राथमिक विद्यालयकी शिक्षिका ताहिरा ९४००, मसँग कुरा गरिरहन्थिन् । उनी भन्थिन्, “मलाई धेरै पढ्ने रहर थियो तर, रूसी सेना र अफगान मुजाहिद्दिनको युद्धको चेपुवामा पर्‍यो मेरो पढाइ ।”

अफगानिस्तानमै अलिक खुला मानिने हेरातमा सन् १९९२ मा तालिवानको कब्जापछि कट्टरपन्थी शासन लागू भयो । उनीहरूले बालिकालाई विद्यालय जान, महिलालाई काम गर्न, एक्लै हिंड्न समेत रोक लगाए ।

ताहिराका बुवाका दुई वटी श्रीमतीबाट १८ सन्तान थिए । अरू दिदीबहिनीको १२ वर्ष नपुग्दै विवाह भए पनि ताहिराले जिद्दी गरेरै थप दुई वर्ष म्याद बढाउन सकिन् । उनको विवाह १४ वर्षको उमेरमा भएछ । ताहिराले सुनाइन्, “तर श्रीमानले मलाई पढ्न दिए ।”

अरू दिदीबहिनीभन्दा धेरै पढे पनि तालिवान सत्तामा आएपछि उनले काम गर्न पाइनन्, बाहिर निस्कनै रोक लाग्यो । “सन्तान बढाउनु बाहेक अरू काम केही भएन” ताहिराले आफ्नै व्यथा सुनाइन्, “त्यसैले ६ जना छन् ।” तालिवानले महिलामाथि लगाएको प्रतिबन्धले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्य अवस्था जर्जर बनाइदियो ।

तालिवानी अतिवादको अर्को उदाहरण एक चिकित्सक मित्रले पनि सुनाए । उनको क्लिनिकमा एक जना महिला आफ्नो बिरामी बच्चा लिएर आएकी रहिछन् । महिला पालो कुरेर बाहिर बसिरहेका बेला तालिवानी पुलिस आए, चिकित्सक र महिला दुवैलाई केरकार गरेपछि पुरुष चिकित्सकको नजिक महिला आउन नमिल्ने निर्णय सुनाए ।

ती महिला बिरामी बच्चा बोकेर रुँदै फर्किइन्, एउटा चिकित्सकले बिरामी बच्चाको उपचार गर्न नपाउँदा ग्लानि अनुभव भयो र उनले देश नै त्यागे । ती चिकित्सक अचेल पाकिस्तानमा छन् ।

अर्की एक महिला चिकित्सक भन्छिन्, “म ट्याक्सीमा अस्पतालतर्फ जाँदै थिएँ, धर्मिक पुलिस आएर मलाई रोक्यो र किन एक्लै हिंडेको भनेर केरकार गर्न थाल्यो । मैले आफ्नो परिचयपत्र देखाउँदै अस्पताल जान लागेको बताए पनि उनीहरूले पत्याएनन् । मैले आफ्ना हाकिमलाई बोलाएँ, बुर्का खोलेर अनुहार देखाएँ र उनले मेरो सनाखत गरे । तैपनि पुलिसले मलाई डण्डा हिर्काएरै छोड्यो ।”

त्यसबेला नेपालमा त महिलाको अवस्था यस्तो छैन भनेर म गर्व गर्थें । मलाई मेरो परिवार–समाजले देशभित्र मात्र होइन विदेशमा पनि एक्लै घुम्न दिएको छ । अझ् ‘म भगवान मान्दिनँ’ भन्न वा कुनै निश्चित भगवान मात्र मान्छु भन्न पनि छुट छ ।

तर अफशोच १ जबजब हिन्दू धर्मका अनेक कुसंस्कार मेरो अगाडि आउँछन्, मलाई लाग्छ के साँच्चिकै म हिन्दू धर्म मान्छु भनेर गर्व गर्नुपर्छ त रु
कतिपय पण्डितहरू कुराकानीका क्रममा भन्छन्, “हिन्दू धर्ममा भएका कुसंस्कार त पछि थपिएका हुन्, वास्तवमा हिन्दू धर्म यस्तो होइन ।”

त्यसो भए पण्डित र धर्मगुरुहरू ठूलो स्वरमा पुराण लगाउँदा धर्म र परम्पराका नाममा भइरहेका विकृतिबारे किन बोल्दैनन् रु जातीय विभेद हाम्रा धर्म गुरुहरूका लागि प्रमुख मुद्दा किन बनेको छैन रु मन्दिरमा सबै पस्न र पूजा गर्न पाउनुपर्छ भनेर पण्डितजीहरू किन ठूलो आवाज गर्दैनन् । रजस्वला भएकी महिलामाथि हुने विभेद अन्त्यका लागि खोइ ठूलो स्वर पारेको रु

‘बाबा’हरूले आफ्ना महिला भक्त, मुल्लाहरूले मदरसामा आउने किशोरी, पादरीले चर्चमा रहेका साना बालक, बौद्ध धर्मगुरुले गुम्बामा बस्ने आनीमाथि यौन शोषण गरेको खुलासा बारम्बार भइरहन्छ । तैपनि सबै धर्मका ‘अगुवा’ हरू यस्ता विकृति विरुद्ध बोल्दैनन् ।

सामाजिक मुद्दामा न धार्मिक अगुवा बोल्छन्, न नेता नै । नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्नेहरूले धर्म र परम्पराका नाममा महिलामाथि भइरहेको विभेद र हिंसाबारे बोल्दैनन् । नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्नेहरूलाई देख्दा लाग्छ ईश्वर र धर्म यिनीहरूका लागि राजनीतिको व्यापार मात्रै हो ।

धर्मलाई आफू अनुकूल व्याख्या गरी केही समयका लागि शक्ति आर्जन वा स्वार्थसिद्ध गर्न त सकिएला तर, त्यसले समाज समृद्ध हुँदैन । कुनै पनि धर्मका नाममा लिंग, जाति, पेशा वा अरू नै आधारमा मानिसहरूबीच विभेद गरिन्छ भने त्यसको विरोध हुनुपर्छ । यस्तो विरोध र त्यस अनुकूलको संशोधनले सम्बन्धित धर्मलाई नै समृद्ध बनाउँछ । हिमालखबर डटकमबाट


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!