चैत्र १५, २०८० बिहीबार

महिला उद्यमशीलता प्रवद्र्धनमा जोड



काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताएकी छन् । अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन (नुसान)ले आज राजधानीमा आयोजना

गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उहाँले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताइन् ।

सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न नारीलाई उद्यमशील तुल्याउन अपरिहार्य भएको उनको भनाइ छ ।

सरकारीस्तरका पनि महिलालाई आत्मनिर्भर र उद्यमशीलतातर्फ उन्मुख गराउन विविध कार्यक्रम सञ्चालन भइरहेका जानकारी दिंदै मन्त्री अर्यालले सार्वजनिक–निजी साझेदारीमा महिला सशक्तीकरण एवं उद्यमशीलता विकास हुनुपर्ने बताइन् ।

बजारको आवश्यकताअनुसार निजी क्षेत्रले पनि कार्यक्रम बनाउनुपर्ने र सरकारले तिनलाई सहयोग पुग्ने नीति तर्जुमा गर्नुपर्ने उनको भनाइ छ ।