बैशाख ८, २०८१ शनिबार

बारेकोटका गाउँमै सिँहदरबार : गाउँमै नागरिकता पाउँदा बृद्धा र सुत्केरी दंग



बारेकोट गाउँपालिका ४ गोठगाउँकी धनसरी सिँह बुधबारदेखि औपचारीक रुपमा नेपाली नागरिक भइन् । उनलाई सरकारी टोलीले बुधबार गाउँमै नागरिकता दिएपछि उनको नाम नेपाली नागरिकका रुपमा दर्ता भएको हो ।

नागरिकता नभएकैकारण उनले न अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएकी छन् न त भोट नै हालेकी छन् ।

जीवनको उत्तरार्धमा ७२ वर्षको उमेरमा पहिलो पटक घरजनिकै नागरिकता लिन पाउँदा धनसरी निकै हर्षविभोर भइन् । सदरमुकाम जान तीन दिन हिँड्नुपर्ने बाध्यता, आफै हिँडेर जान नसक्ने, सदरमुकाम लगिदिने मानिस नभएको, आर्थिक समस्या र नागरिकताको खासै काम नपरेकोले पहिले बनाउन नपाएको उनले बताइन् ।

बारेकोट–४ जिरीकी ६९ वर्षीया पद्मी सार्कीले पनि पहिलो पटक नागरिकताको प्रमाण प्रत्र पाउँदा निकै खुशी भईन् ।

माइतीमै एकल जीवन बिताउँदै आएकी उनले समयमा नागरिकता नबनाउँदा लामो समयदेखि सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत वञ्चित हुनुपर्यो ।

दुर्गम ठाउँमा जन्मेको र जनचेतनाका अभावले गर्दा यसरी लामो समयसम्म नागरिकता नबनाउने महिलाको सँख्या बारेकोटमा धेरै छ । यहाँ करिब पनि ७० प्रतिशत महिला जिल्ला सदरमुकाम पुगेका छैनन् ।

धेरै महिलाको नागरिकताको समस्या भएपछि बारेकोट गाउँपालिकाले गाउँमै शिविर सञ्चालन गरेर उनीहरुलाई नागरिकता वितरण गरेको हो । गाउँ गाउँमा सिँहदरबारको नाराका साथ स्थापना भएको स्थानीय तहले जनतालाई घर आँगनमै सेवा दिन यसरी लामो समयदेखि नागरिकता नपाएकाहरुलाई नागरिकता वितरण गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको समन्वयमा बारेकोटको लिम्सामा भएको शिविरमा महिला, सुत्केरी, अपाङ्ग लगायतका लागि प्राथमिकताका साथ नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ।


बारेकोट–४ करुकाकी तीन दिने सुत्केरी १८ वर्षीय देवीका बस्नेत थापाले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाइन् । शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामावली, अपाङ्गता परिचयपत्र वितरण, घरेलु उद्योग दर्ता लगायतका सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

५७ बर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी बारेकोट गाउँपालिका–८ कि दृष्टिबिहीन सरस्वती उपाध्यायले नागरिकता पाएपछि निकै खुसी व्यक्त गरिन् । नागरिकता बनाउन खलंगा पुग्न नसकेकै कारण अहिलेसम्म नागरिकता लगायत राज्यका सेवा सुविधाबाट बञ्चित हुनु परेको थियो ।

दिसा पिसाव समेत अर्कैको सहारा चाहिने उपाध्यायले नेपाली नागरिका पाएपछि अब गाउँपालिकाबाट अपाङ्गता परिचय पत्र पाउनुको साथै परिचय पत्रको श्रेणी अनुसारको भत्ता पाउनेमा उपाध्याय आशावादी बनेकी छन् ।

७० बर्षको उमेरमा नेपाली नागरिकता पाएकी बारेकोट–९ सक्लाकी मनसरी महतराले आफूलाई राज्यले ठूलो सहयोग गरेको बताइन् । “बिरामी भएर ओछ्यान पर्दा पनि भत्ता खान पाएकी थिइन, अब त भत्ता पाउने भएँ ।”, उनले खुसि हुँदै भनिन् ।

लिम्साको शिबिरमा बारेकोट–४ करुकाकी तीन दिने सुत्केरी १८ बर्षिय देविका बस्नेत थापाले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी थिईन ।

गाउँपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, जाजरकोटले संचालन गरेको एकीकृत घुम्ती सेवा मार्फत ११ सय ४० जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

उनले नेपाली नागरिता पाउनेहरुमा ६५ प्रतिशत महिला रहेको बताए । ६ दिनसम्म संचालन गरिएको घुम्ती सेवा मार्फत १३ सय ४८ जनाले फोटो सहितको मतदाता नामावली भरेको सहायक प्रजिअ खतिवडाको भनाई रहेको छ ।

फोटो सहितको मतदाता नामावली भर्ने १३ सय ४८ जनामा ७ सय २० जना महिला रहेका छन् ।

बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट झण्डै ५० किलोमिटर टाढाको दुरीमा रहेको जिल्ला सदरमुकाम खलंगामा पैदल यात्रा गरेर नेपाली नागरिकताको प्रमाण पत्र बनाउन र मतदाता नामावली भर्न झण्डै प्रति व्यक्ति १० हजार खर्च हुने बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए ।

गाउँघरमै आएर ११ सयलाई नागरिकता र १३ सयको मतदाता नामावली भर्दा बारेकोटी जनताको झण्डै १ करोड १४ लाख रुपैया बचाउन उक्त घुम्ती सेवा सफल भएको अध्यक्ष शाहको भनाई रहेको थियो ।

गाउँ–गाउँमा आईपुगेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म पुर्याउन बारेकोट गाउँपालिकाको आयोजनामा संघीय सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालयले बारेकोट गाउँपालिकामा एकीकृत घुम्ती सेवा संचालन गरिएको प्रजिअ बस्नेतको भनाई रहेको थियो ।
६ दिनसम्म बारेकोट गाउँपालिकामा संचालन गरिएको एकीकृत घुम्ती सेवा दुई चरणमा पुरा गरिएको थियो ।

पहिलो चरणमा गत फागुन २९ गते देखि चैत २ गतेसम्म बारेकोट–२ लिम्सामा घुम्ती सेवा संचालन गरिएको थियो । लिम्साको एकीकृत घुम्ती सेवाबाट बारेकोट–१, २, ३, ४, ५ र ६ नम्बर वडाका नागरिकहरुले सेवा लिएका थिए भने, दोस्रो चरणको घुम्ती सेवा यहि चैत ३ र ४ गते बारेकोट–८ सेपुखोलमा संचालन गरिएको थियो । सेपुखोलाको एकीकृत घुम्ती सेवाबाट बारेकोट–७, ८ र ९ नम्बर वडाका नागरिकहरुले सेवा लिएका थिए ।

२०६८ सालको जनगणना अनुसार बारेकोट गाउँपालिकाम ३ हजार ९३ घरधुरी रहेका छन् भने, कुल जनसंख्या १८ हजार ८३ रहेको छ । कुल जनसंख्यामा ९ हजार १ सय २२ महिला रहेका छन भने, ८ हजार ९ सय ६१ पुरुष रहेका छन् । यस बर्ष घुम्ती सेवाबाट मात्र बारेकोटका ११ सय ४० जनाले नयाँ नेपाली नागरिकताको प्रमाण पत्र लिएपछि बारेकोटको जनसंख्या र घरधुरी संख्यामा निकै ठुलो परिवर्तन आएको हुन सक्ने अनुमान गर्न थालिएको छ ।