बैशाख ४, २०८१ मंगलबार

स्थानीय सरकारको राजश्वको श्रोत मदिरा : गुल्मीमा बलात्कार हत्याको कारक



गुल्मी– २६ पुस २०७५ मा गुल्मीको मालिका गाँउपालिका ७ का ७० वर्षीय हजुर बुवाले १३ वर्षीया नातिनीलाई बलात्कार गरि फरार भए। पटक–पटक बलात्कारमा पर्दै आएकी बालिकाले आफ्नो बुवालाई घटना बताएपछि बल्ल १३ माघमा प्रहरीकहाँ उजुरी पर्‍यो।

बलात्कारपछि भागेर भारतको आसाममा बस्दै आएका उनलाई आफन्तको सुराकीको आधारमा घर फर्कदै गर्दा प्रहरीले २४ माघमा तम्घासबाट गिरफ्तार गर्‍यो ।

२ असोजमा इश्मा गाउँपालिका ५ इस्मा रजस्थलका ३७ वर्षीय एक व्यक्तिले आफ्नै १० वर्षीया छोरीलाई यौन दुर्व्यवहार ९अप्राकृतिक मैथुन० गरेको घटना सार्वजनिक भयो ।

९ मंसिरमा धुर्कोट गाउँपालिका ६ रजस्थलका ३५ वर्षीय एक व्यक्तिले आफ्नै ५२ वर्षीया काकीलाई बलात्कार गरे । त्यसको केही समयमा धुर्कोट गाउँपालिका ५ मा २६ वर्षीय दाजुले १६ वर्षीया बहिनी बलात्कार गरेको उजुरी पर्‍यो ।

यी मात्र होइन, पछिल्लो एक वर्षमा गुल्मीमा ११ वटा बलात्कारका उजुरी परेका छन्। बलात्कारका घटनामा मदिरा सेवन मूख्य कारण रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेततले बताए ।

समयमै मदिरा नियन्त्रण हुन नसक्दा बलात्कार संगै हत्याका घटनासम्म भएको प्रहरीको तथ्यांक छ। ‘धेरै घटनामा अनुसन्धान गर्दा बलात्कार अपराधको कारण मदिरा देखिन्छ,’ बस्नेतले भने, ‘यसको नियन्त्रण र सचेतना आवश्यक छ।’

अत्यधिक मदिरा सेवनका कारण मदाने गाउँपालिका ७ का दुर्गा नेपाली र मुसिकोट नगरपालिका ४ का पंकज कुमालले श्रीमतिको वीभत्स हत्या गरेका थिए ।

जिल्लामा स्थानीय सरकारको रुपमा रहेका स्थानीय तहले राजश्वको श्रोतका रुपमा मदिरा विक्रि अव्यवस्थित बनाउँदा यस्तो विकराल समस्या देखिएको हो ।

बलात्कारका घटनाले सिंगो घरपरिवार र समाज असुरिक्षत बन्दै गएको महिला अधिकारकर्मीको भनाइ छ ।

‘बाबुबाट छोरी र दाजुबाट बहिनी बलात्कृत हुने घटनाले महिला र बालिका आक्रान्त बनेका छन्, ’अधिकारकर्मी हिरा कुवंरले भनिन्,‘ अब परिवारमा कसको विश्वास गर्नेरु’ जिल्लामा एक ६ वर्षीया बालिकादेखि ८८ वर्षीया वृद्धा बलात्कृत भएको विभिन्न तथ्यांकले देखाएको छ।

इस्मा दर्लामचौरका एक युवाबाट गत फागुनमा ६ वर्षीया बालिका बलात्कार भएकी थिइन्। त्यस्तै मालिका गाउँपालिका ५ छापहिलेकी ८८ वर्षीया वृद्धालाई गत पुसमा १६ वर्षका एक किशोरले बलात्कार गरेका थिए ।

इस्मा गाउँपालिका ५ का ५६ वर्षीय धनबहादुर चुँदाराले भदौमा मानसिक सन्तुलन नभएकी ३५ वर्षीय युवतीलाई समेत बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्लामा एक वर्षमा छ जना बालिका र पाँच महिला बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रवीन्द्र खड्काले बताए।

छ जना बालिकामध्ये एक जना बाबुबाट, एक जना हजुरबुवा, एक जना दाजु र तीन जना अन्य व्यक्तिबाट बलात्कृत भएका छन् । पाँच जना महिला बलात्कृत भएमध्ये दुई जना आफन्तबाटै, दुई जना सुस्त मनस्थिती भएका र एक जना महिला अन्य व्यक्तिबाट बलात्कृत भएको प्रहरीले जनाएको छ।