बैशाख १३, २०८१ बिहीबार

साफ महिला फुटबलकाे आज फाइनल : उपाधिका लागि नेपाल र भारत भिड्दै



विराटनगर – पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित भएको थियाे ।

महिला फुटबलमा दुवै टोली १० पटक भिडेका छन् । जसमा भारतनै हाबी देखिएको छ । खेलिएका १० खेलमा ७ खेल भारतले जितेको छ । दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो एक खेल नेपालले जितेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेलिएका ४ खेलमा तीन पटक भारत विजयी भएको भने एक खेल बराबरीमा सकिएको ईतिहास छ । टोकियो ओलम्पिकका लागि भएको छनोट प्रतियोगितामा भने नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए । अघिल्लो महिना भएको भारतमै आयोजना भएको हिरो गोल्डकपमा भने नेपालले भारतलाई २–१ ले हराएको थियो ।

भारतविरुद्व पछिल्लो समय प्राप्त जितले टोलीको मनोबल उच्च रहेको मुख्य प्रशिक्षक हरी खड्का बताउँछन् ।

‘भारत दक्षिण एसियाको फुटबलमा सदाबहार देश हो भने हामी स्थापित हुँदैछौं । टिम सम्हाल्न थालेपछि हामीले भारतसंग २ खेलेका छौं जसमा एक बराबरी खेलेका छौं भने हामीले १ जित पनि हात पारेका छौं ।’ नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल अघि भने, ‘त्यस कारणले खेलाडीहरुको मनोबल उच्च रहेको छ । अब हामीले उनीहरुको २र३ जना प्रमुख खेलाडीलाई रोक्दै हामीले आफ्नो बलियो पक्ष प्रयोग गर्ने छौं।’

‘यो हाम्रो घरेलु मैदान हो । जन्मभुमी हो । त्यसैले हामी रेकर्ड तोड्न तयार छौं । खेलाडीहरु उत्साहित छन् र मनोबल पनि उच्च रहेको छ । भोली हाम्रो दिन हुनेछ र हामीले उपाधि पनि उचाल्ने छौं भन्नेमा विश्वास छ ।’ उनले थपे ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएपछी नेपालले भारतसंग एक खेलमा जित र एक खेलमा बराबरी खेलेको छ । 
‘हामी आक्रमक फुटबलमा विश्वास गर्छौं । अहिले हाम्रो टिम सन्नुलित छ । आत्मविश्वास पनि माथि नै छ । त्यसैले हामी आक्रमक फुटबल नै खेल्ने छौं ।’ प्रशिक्षक खड्का भन्छन्, ‘हाम्रो मुख्य हतियार भनेको हार नमान्ने अठोट नै हो । जुन गोर्खालीपन खेलाडीमा पनि रहेको छ । प्राविधिक हिसाबमा उनीहरु धेरै माथि छन् । हाम्रो खेलाडीमा पनि दिन प्रतिदिन सुधार देखिंदै आएको छ । त्यसैले पहिले जस्तो हामी भारतसंग दबिएर खेल्नु पर्ने छैन् ।’

यता कप्तान निरु थापाले पछिल्लो समय भारतविरुद्व प्राप्त जितले नेपाली टिमको मनोबल उच्च रहेको बताईन् ।

‘ओलम्पिक छनोट खेल्दा हामीलाई भारत भन्दा खेलाडी डराएको जस्तो हुन्थ्यो तर प्रशिक्षकको हौशलाले हिरो कपमा हामीले ऐतिहासिक जित हात पार्न सफल भएका थियौं ।’ कप्तान निरुले भनिन्, ‘हामीले अन्तिम खेल जसरि पनि जित्नु पर्छ जसको लागि हामीले धेरै मेहनत गर्नु पर्छ । हामीले त्यसरी खेल्यौ भने उपाधि उचाल्न सक्छौं ।’

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० र दोस्रो खेलमा बंगलादेशलाई ३–० ले हराएको हो । यस्तै सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो ।

यता भारतीय टिमकी मुख्य प्रशिक्षक म्यामोल राकीले फाईनल खेल निकै रोमाञ्चक हुने दाबी गरिन् ।

‘फाइनल सधैं रोमाञ्चक नै हुन्छ। हामीलाई थाहा छ नेपाल पूर्ण तयारीका साथ मैदान उत्रने छ र हामीले उनीहरुको सामना गर्ने छौं । मेरो चाहाना भनेको नै सधै खेल जित्नु हो ।’ उनले भनिन्, ‘हामीले सुखद सुरुवात गरेका थियौं र अन्त्य पनि सुखद नै गर्न चाहान्छौं ।’ खेलपाटीबाट