बैशाख १३, २०८१ बिहीबार

महिला हिंसा अन्त्यका लागि गृह मन्त्रालयलाई २३ हजार चिठी



काठमाडौं – विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपाल सरकारलाई २३ हजारभन्दा बढी पत्र हस्तान्तरण गरेको छ ।

पत्रलेखनकै माध्यमबाट जोखिमपूर्ण अवस्थामा रहेका मानिसको मानवअधिकार रक्षाका लागि कार्यरत एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपालमा बढ्दो महिला हिंसा रोक्न माग गर्दै उक्त पत्रहरु नेपाल सरकारअन्तर्गत्को गृह मन्त्रालयमा बुझाएको हो ।

महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै २३ हजार २४७ पत्र गृह मन्त्रालयलाई बुझाएको एम्नेस्टी नेपालले जनाएको हो ।

ती पत्र एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्रलेखन कार्यक्रम ‘राइट फर राइट्स’ अभियानकाक्रममा संकलन गरेका थिए ।

पत्रहरूमा स्थायी सरकार बनेको परिवर्तित राजनीतिक सन्दर्भमा पनि नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दन्डहीनताको डरलाग्दो अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदम चाल्न, पीडकलाई कानुनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एकवर्षे हदम्यादको प्रावधान हटाइ कुनैपनि हदम्याद नराख्ने दिशामा कानुन संशोधनको प्रक्रिया अघि बढाउन पनि आह्वान गरिएको छ ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमन्डलले गृह मन्त्रालयमा पुगेर उक्त पत्रहरु बुझाएको हो ।