बैशाख २, २०८१ आईतबार

एसईई दिने छात्रा परिक्षार्थीलाई सेनेटरी प्याड




स्याङ्जा – एसईई परिक्षा नजिकिँदै गर्दा गण्डकी प्रदेश सरकारले स्याङ्जाका छात्राहरुलाई सेनेटरी प्याडका लागि रकम उपलव्ध गराएको छ । परिक्षालाई लक्षित गरेर छात्रा परिक्षार्थीलाई गण्डकी प्रदेश सरकारले सेनेटरी प्याड खरिदका लागि ४० हजार रुपैंया उपलब्ध गराएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले सेनेटरी प्याड खरिदका लागि सो रकम प्रदान गरेको थियो । स्याङजामा आयोजित कार्यक्रम मार्फत परिक्षामा सहभागी छात्राहरुका लागि लक्षितगर्दै मन्त्रालयका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासलाई सो रकम वापतको चेक हन्तान्तरण गरेकी हुन् ।

जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहेकी सुन्दासले परिक्षामा सहभागी महिनावारी भएका सबै छात्राले सेनेटरी प्याडको उपयोग गर्न पाउनु भन्दै सो चेक पुनः शिक्षा विकास तथा समन्वय इकाई प्रमुख घनश्याम पौडेललाई नै प्रदान गरिन् ।

चेक बुझदै प्रमुख सुन्दासले यस्ता खालका सहयोगले छात्राहरुको मनोवल उच्च बढ्ने र उनीहरुको परिक्षा समेत राम्रो हुने बताईन् । साथै, उनले परिक्षार्थीलाई परिक्षाका समयमा आवश्यक पर्ने कलम, कापी र मसी जस्ता आवश्यक बस्तुहरुमा समेत अभिभावक र शिक्षकबर्गले सहयोग गर्न सुझाव दिईन् ।

कार्यक्रममा शिक्षा समन्वय इकाई प्रमुख घनश्याम पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रका शर्मा, महिला विकास निरीक्षकहरु शरद गुरुङ र मन्जु ढुंगााना लगायतले महिनावारीलाई अवसर मानेर सफासुग्घर बस्ने र सेनेटरी प्याडको प्रयोगपछिको ब्यवस्थापनका बारेमा सबैलाई सचेत गराउनु पर्नेमा जोड दिए ।

गण्डकी प्रदेश अन्र्तगतका मनाङ र मुस्ताङ जिल्ला बाहेक सबै जिल्लामा यस्ता कार्यक्रम संचालन गरिने भएको छ । मनाङ र मुस्ताङ जिल्लामा निकै कम छात्रा परिक्षामा सहभागी हुने भएको हुदा त्यहाँका बिद्यालयले नै प्याडको ब्यवस्थापन गर्ने भएको हो ।

यस बर्ष स्याङजाबाट ५ हजार ९ सय ३९ बिद्यार्थी एसईईमा सहभागी हुदैछन् । ती मध्ये ३ हजार २ सय ७ जना छात्रा छन । जिल्लाभर ३३ वटा परिक्षा केन्द्र निर्धारण गरिको छ ।

छात्रा सहभागीमध्ये १५ प्रतिशत छात्रा महिनाबारी हुने अनुमान गर्दे प्रदेश मन्त्रालयले सोही बमोजिमको रकम ब्यवस्थापन गरेको स्रोत ब्यक्ति आचायले जानकारी दिइन् ।