चैत्र १५, २०८० बिहीबार

जीर्ण घरमा बसेका आमाछोरीलाई नगरपालिकाले घर बनाइदिने



गुल्मी – जीर्ण घरमा कष्टकर जीवन विताउँदै आएका बृद्ध महिला र अपाङ्गता भएकी छोरीका लागि रेसुङ्गा नगरपालिकाले घर बनाइदिने भएको छ ।

रेसुंगा नगरपालिका ७ अर्घाखाँची जिपपार्कमा बस्दै आएकी ७६ वर्षीया देउरूपा पन्थी र अपाङ्गता भएकी छोरी ३४ वर्षीया सिता पन्थीका लागि घर निर्माण गरीदिने भएको हो ।

परिवारमा आम्दानी गर्ने अरू कोही नहुँदा उनीहरू तमघासकै खोला किनारमा रहेको सुकुम्वासी जग्गामा झण्डै २९ वर्ष बिताएको वृद्ध देउरूपा पन्थीले बताइन्। “छोरी अपाङ छ,म बूढी भएँ, परिवारमा अरू कोही छैन”, देउरुपाले भनिन् ।

कुप्रो परेको ज्यान अनि आँखाले खासै भर नपाउने देउरूपालाई सुकुम्बासीको जग्गामा एकछाले टिनको छानोमा ओत लागेको लामो समयसम्म कसैले देखेनन्। ३४ वर्षीया छोरी सीतालाई पनि उभिनका लागि लौरो र अन्य व्यक्तिको साहारा चाहिन्छ।

आमा छोरी दुवैको यो कष्टपूर्ण जीवनमा बिहान(साँझ छाक टार्नसमेत मुश्किल पर्छ। राम्रो घरमा बस्ने त उनीहरूको सपनाजस्तै बनेको थियो। देउरूपाका पती जीवितै रहँदा घरको पुर्ख्यौली सम्पत्ति सबै बेचेर सकेका उनी बताउँछिन्।

पाँच वर्षकी अपाङ छोरीलाई काखी च्यापेर तमघासकै सुकुम्बासी जग्गामा टिनको छाप्रो बनाएर बसेको देउरूपा भनाइ छ। पतीको मृत्यु भयो। उमेर ढल्कदै गयो तर उनका दिन फेरिएनन्। दैनिकी झन् कष्टकर बन्दै गयो।

सुकुम्बासीको झुपडीमा कष्टकर जीवन बिताएको झण्डै ३० वर्षमा उनका लागि स्थानीय, नगरपालिका र अन्य संघ संस्थाको सहयोगमा घर बन्ने भएको हो।

रेसुंगा नगरपालिका,आशा अपाङ केन्द्र, वीरभद्र जंग गुल्म गुल्मी, साइराम कल्याणकारी आमा समूह, स्थानीय उद्योगी, व्यवसायीलगायत पन्थी समाज र नागरिक समाजको पहल र सहयोगमा उनीहरूका लागि घर निर्माण गर्न लागिएको हो।

नेपाली सेनाले दैनिक पाँच जना जनशक्ति घर निर्माणमा पठाउने सेनानी रवीन्द्र महर्जनले बताए। त्यस्तै, नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गर्ने नगरपालिकाका उपप्रमुख सीता भण्डारीले बताइन्।

उनले आवश्यकताअनुसार नगरको सहयोग रहने उल्लेख गरिन्। यता रेसुंगा नगरपालिका ७ का वडा अध्यक्ष मोहोन प्रसाद पाण्डेले स्थानीय सरकारको अनुभूति दिन विपन्नहरूका लागि घर निर्माण गर्न लागेको बताए।

उनले जस्ता पाताका साथै वडाका तर्फबाट १० हजार आर्थिक सहयोग र व्यक्तिगत ५ हजार १ सय ५१ सहयोग गर्ने बताए। वृद्ध देउरूपा र अपांता भएकी उनकी छोरी सीताका लागि दुई कोठा र शौचालयसहितको घर निर्माण हुन लागेको हो।

घर निर्माणका लागि झण्डै छ लाख ३३ हजार रुपैयाँ लागत लाग्ने नगरपालिकाका सब इन्जिनियर चक्र केसीले बताए।