बैशाख १३, २०८१ बिहीबार

महिलाले बनाए गाउँभरि पदमार्ग




नाचगान गरेर जुटाएको पैसाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका महिलाले पदमार्ग निर्माण गरेका छन् ।

गाउँमा आउने लाहुरेलाई स्वागत, विवाह, छेवारमा नृत्य देखाएर जम्मा गरेको पैसाले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरेका हुन् ।

जनजागृति आमा समूहको नेतृत्वमा ९ लाख ६३ हजार ८७० रूपैयाँमा डेढ मिटर चौडाइ भएको
एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी पाइजाले बताइन् ।

त्यसका लागि आमा समूहको कोषमा रहेको रु तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप रु तीन लाख ६० हजार ४४० जुटाइएको थियो ।

गाउँका ४३ घरधुरीले रु ४६ हजार ५०० बराबरको श्रमदान गरेका थिए भने नपुग रु एक लाख ९८ हजार गाउँपालिकाले अनुदान उपलब्ध गराएको थियो।

आर्थिक स्रोत र श्रमदान जुटाउन महिलाले नै नेतृत्व गरेका थिए । पदमार्ग निर्माण उपभोक्ता समितिमा पदाधीकारी र सदस्य पनि सबै महिला छन् ।

नीहरुले यसअघि पनि रघुगङ्गा गाउँपालिकाको तिप्ल्याङदेखि दोसल्लेसम्म दुई किलोमिटरभन्दा बढी घोडेटो बाटो बनाएका थिए ।

सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ ।

बालबालिका र वृद्धवृद्धाले पनि सजिलै हिँड्डुल गर्न पाएका छन् ।