चैत्र १५, २०८० बिहीबार

काठमाडाैंबाट छाेरी लिएर हिँडेकी शर्मिला ३९ दिनसम्म पर्वत पुगिनन्



काठमाडौंबाट पर्वत जान भनेर हिँडेकी एक महिला चारवर्षीया छोरीसहित एक महिनादेखि बेपत्ता भएकी छन् ।

गत फागुन २ गते काठमाडौंबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर हिँडेकी फलेवास नगरपालिका–२ थापाठानाकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेकी हुन् ।

शर्मिलालाई कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा स्थानीय प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए । परिवारका सदस्यले दुःख दिएको भन्दै लामो समय माइतीमा बसेर गत माघमा मात्र घरमा गएको उनका बाबु मतिलाल कार्कीले बताए ।

‘‘घरमा बस्न नसकेको भन्दै १८ महीना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’’ कार्कीले भने “फागुन ५ गते कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मीले घरमै आएर छोरी हराएको जानकारी दिएपछि मात्र हराएको थाहा पाएँ ।”

शर्मिलाका श्रीमान प्रकाशले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफूले काठमाडौंबाट पर्वतको बसमा चढाएको बताए ।

उता परिवारले खोजी कार्यमा चाँसो नदेखाएपछि आफूले फागुन १३ गते पर्वत प्रहरीमा खोजीकार्यमा सहयोग गरिदिन निवेदन दिएको बाबु मोतिलालले बताए । पहिल्यैदेखि शारीरिक र मानसिक यातना दिँदै आएकाले घरपरिवारले नै छोरी र नातिनीलाई बेपत्ता बनाएको उनको आरोप छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने सम्बन्धित ठाउँमा खोजीकार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

काठमाडाैंबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।