चैत्र १५, २०८० बिहीबार

नबिल नारी : ३.९४% ब्याजमा ऋण



काठमाडौं – नबिल बैंकले ३.९४ प्रतिशत ब्याजमै ऋण दिने गरी नयाँ स्किम ल्याएको छ। महिलाले चलाएको लघुउद्यममा नबिलले १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने छ। 

बैंकले महिलाकै लागि डेढ करोड रुपैयाँसम्म ऋण दिने अर्को स्किम पनि ल्याएको छ। यसको ब्याज ९.९९ प्रतिशत छ। ब्याज दर एक बर्षसम्म नबढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए।

बैंकले महिलाकै लागि उच्चतम ब्याज दरसहितको बचत खाता पनि ल्याएको छ। बैंकले ‘नबिल नारी’ अभियान सञ्चालन गर्दै बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ।

‘देशमा नारीको उपस्थिति जनसंख्याको आधा भए पनि उद्यम ब्यवसायमा निक्कै कम छ। त्यसैले उनीहरुलाई आर्थिक रुपमा शशक्तीकरण गर्नका लागि पनि बचत र ऋणको स्किम ल्याएका हौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बिहीबार पत्रकार सम्मेलनमा भने।

नबिल प्रिमियम बचत खातामा ४.७५ प्रतिशत ब्याजका साथै विभिन्न सेवाहरुमा छुट पनि घोषणा गरिएको छ। बचत खाता खोल्नेले कार्ड, डिमान्ड ड्राफ्ट/ स्फिट ट्रान्सफर र लकर सुविधा उपलब्ध गराउने छ।

डेढ करोड रुपैयाँसम्म ऋण उपलब्ध हुने नबिल नारी कर्जा पाउनका लागि महिनाहरुको स्वामित्वमा स्थापित संस्था हुनु पर्छ। संयुक्त लगानीको फर्क भए कम्तिमा ५० प्रतिशत स्वामित्व महिलाको हुनु पर्छ। कम्पनी भए ५१ प्रतिशत शेयर हुनु पर्छ। 

यो ऋण लिनेले ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्डका साथै एसएमएस सुविधा निशुल्क पाउने छ। यो कर्जा कागजपत्र बुझाएको पाँच दिनभित्र पाइने नपाइने जानकारी ग्राहकले पाउने शाहले जानकारी दिए। यो ऋणमा धितो अनिवार्य छैन। ब्यवसायको संभाब्यता हेरेर बैंकले धितो चाहिने नचाहिने टुङ्गो गर्ने छ। 

महिलाले चलाएको लघुउद्यम ऋण १५ लाख रुपैयाँसम्म पाइन्छ। यसको ब्याज ३.९४ प्रतिशत छ। यो ऋण १८ देखि ६५ बर्षसम्मका महिलाले पाउने छन्। यसमा धितो राख्नु पर्दैन। यो ऋण प्रकृया सुरु गरेको २१ दिनभित्र उपलब्ध हुने छ। बैंकले ल्याएको ऋण स्किममा सहभागी हुन जुनसुकै शाखामा गए पनि हुन्छ।

‘नारीको सम्मानका लागि हामीले ऋणको स्किम ल्याएका हौं। त्यसैले एक पटक नबिलको जुनसुकै शाखामा जानका लागि नारीहरुलाई आग्रह गर्छु’ शाहले भने, ‘त्यहाँ गएपछि ऋण लिनै पर्छ भन्ने छैन। तर यसका बारेमा जानकारी लिँदा पक्कै फाइदा हुने छ।’

बैंकले नबिल नारी मार्फत ल्याएका तीन बटा ‘प्रडक्ट’ को प्रबर्द्धन गर्न नायिका प्रियङ्का कार्कीलाई ‘नबिल नारी’ नियुक्त गरेको छ। उनले यस अभियानमा पाउने पारिश्रमिक आफ्नो फाउन्डेसन ‘आयन्का फाउन्डेसन’ लाई दिएर सामाजिक कार्यमा खर्च गर्ने बताइन्।