बैशाख १२, २०८१ बुधबार

सशस्त्रले जित्यो महिला भलिबलको उपाधि



काठमाडौं – महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

शुक्रबार हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको फाइनल खेलमा न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो ।

सशस्त्रले खेल २५–१२, २५–११ र २५–११ को सोझो सेटमा जित्यो ।

योसँगै सशस्त्रले एकै वर्षमा खेलेका ११ फाइनलबाट १० ओटा उपाधि जितेको छ ।

उपाधिसँगै सशस्त्रले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको न्यू डायमन्डले एक लाख २५ हजार रुपैयाँ पायो ।

यस्तै, तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ जित्यो ।

शुक्रबारै भएको तेस्रो स्थानको भिडन्तमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको थियो ।

सशस्त्र प्रहरी बलले विगत सात वर्षदेखि महानिरीक्षकका नाममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।