बैशाख १३, २०८१ बिहीबार

डाक्टर श्रीमानको कुटाइबाट श्रीमती सुनिताकाे मृत्यु



काठमाडौं – गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमतीको मृत्यू भएको छ ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी ३६ वर्षीया सुनिताको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

पर्साको वीरगञ्ज महानगरपालिका–२० स्थायी घर भएका यादवले गत चैत ६ गते सुनितालाई कुटेर टाउको र शरीरभरि चोटपटक लागेको थियो ।

कुटाइबाट घाइते भएकी यादवलाई सुरुमा नारायण उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँबाट रिफर गरेपछि यादवलाई वीरगञ्ज हेल्थ केयरमा लगिएको थियो।

हेल्थ केयरमा उपचार सम्भव नभएपछि यादवलाई गत चैत १२ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

सुनिता डा. सचितानन्दकी जेठी श्रीमती रहेको प्रहरीले जनाएको छ। सुनिताबाट सन्तान नभएपछि उनले कान्छी श्रीमती भित्र्याएका थिए। कान्छी श्रीमती भित्र्याएपछि सुनिता र सचितानन्दको सम्बन्ध बिग्रेको थियो।

बाराको परवानीपुर ५ बहुअरी माइती भएकी सुनिताको १५ वर्ष अगाडि वीरगन्ज महानगरपालिका २० हरपतगन्ज निवासी डा.सचितानन्द यादवसँग विवाह भएको थियो ।

त्यस बेला २० लाख रुपैयाँ दाइजो दिएर दिदीको विवाह सम्पन्न भएको यादवले खुलाए । ‘विवाहको केही महिनापछि नै दिदीसँग राम्रो व्यवहार गरिएन,’ उनले भने, ‘नामका लागि मात्र विहे गरेको जस्तो महसुस हुन थालेको थियो ।

दिदीलाई चाहिने नुन, तेल, साबुन र दैनिक सामग्री हामीले नै उपलब्ध गराउँदै आएका थियौं ।’ उनका अनुसार माइती घर आउँदा पनि एक डेढ वर्षसम्म दिदीलाई बोलाउन ससुरालीबाट आउँदैन्थे । जे जसरी होस यो घरबाट जाओस् भन्ने उनीहरू चाहन्थे ।

डा.सचितानन्दले भारतको सीमावर्ती सहर रक्सौलको एक युवतीसँग दोस्रो विवाह गरेका छन् । पारिवारिक स्रोतका अनुसार कान्छी श्रीमती र दुई बच्चा सहित सचितानन्द वीरगन्जको आदर्शनगरस्थित घरमा बस्दै आएका थिए ।

जेठी श्रीमतीलाई हरपतगन्जको पुरानो घरमा राखेका थिए । दिदीको बच्चा नरहेको सन्तोषले जनाए ।

पत्नी सुनितालाई कुटपिट गर्ने डा. सचितानन्दलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएपछि यसअघि सुनिताका माइती पक्षले डा. सचितानन्द उनका बुवा नागेन्द्र, आमा आशादेवी र भाइ अचितानन्दविरुद्ध गत चैत १२ गते नै प्रहरीमा मुद्दा दर्ता गराएका थिए।