बैशाख १२, २०८१ बुधबार

लुगा धुन गएकी महिला मृत फेला



कञ्चनपुर – लुगा धुन खोला गएकी कञ्चनपुरकी एक युवती मृत फेला परेकी छन् ।

बेदकोट नगरपालिका, १ चम्फापुरकी राधा राना शनिबार मृत फेला परेकी हुन् ।

बिहान नजिकैको खोलामा लुगा धुन गएकी २० वर्षीय रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर विष्टले लुगा धुँदै गर्दा एक्कासी मुर्छा भएपछि घटना स्थलमै मृत्यु भएको बताएका छन् । 

राधाको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

उनको मृत्युबारे कञ्चनपुर प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।