बैशाख ५, २०८१ बुधबार

बलात्कार गर्ने बाबुलाई जेल, छोरीले शिशु जन्माइन्



धनकुटा — छोरी बलात्कार गरी गर्भवती बनाएका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैद सुनाएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउनेसमेत फैसला भनिएको छ ।

चौबिसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो ।

गत साउनदेखि बाबुले डर देखाएर बलात्कार गर्दै आएको किशोरीले बताइन् । पटकपटक बलात्कार सिकार भएकी १६ वर्षीया किशोरी ८ महिनाकी गर्भवती भएपछि विद्यालयमा सोधपुछ गर्दा घटना खुलेको थियो ।

स्थानीय एक विद्यालयमा १० कक्षामा अध्ययनरत उनको शारीरिक अवस्था परिवर्तन भएपछि शिक्षिकाले सोधपुछ गर्दा रहस्य खुलेको हो ।

शिशु जन्माइन्
बाबुबाट बलात्कृत किशोरीले बुधबार शिशु जन्माएकी छन् । अदालतबाट अपराधमा संलग्न बाबुलाई जन्मकैद ठहर गरेको अघिल्लो दिन उनले अस्पतालमा शिशु जन्माएको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला अदालतले राज्यले प्रजनन स्वास्थ्यसम्बन्धी उचित शिक्षा दिन नसकेको भन्दै आमाबच्चाको पालनपोषणसहित १ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने निर्णय सुनाएको छ ।

नेपालले अन्तर्राष्ट्रिय अधिकारका पक्षमा सम्झौता गरेको र त्यसलाई कार्यान्वयन गर्न राज्य पक्ष चुकेकाले नागरिकलाई अधिकारबाट वञ्चित गराएको भन्दै उक्त फैसला सुनाएको न्यायाधीश पोखरेलले बताए ।