चैत्र १६, २०८० शुक्रबार

बच्चाका लागि मर्न पनि पाउँदैनन् आमा : ‘मस्तिष्क मृत्यू’ भएको तीन महिनापछि सुत्केरी



तस्वीर स्राेत : गेट्टी इमेज

बच्चाका लागि आमाको जिम्मेबारी यति धेरै हुन्छ कि बाच्न त संघर्ष हुन्छ नै, मर्न पनि प्राकृतिक रुपमा पाउँदैनन् । यो कुराको पुष्टि पोर्चुगलमा हालैको एउटा घटनाले गरेको छ ।

जहाँ आफू मानसिक रुपमा मृत घोषित भएको तीन महिनापछि एक महिलाले बच्चालाई जन्मदिएकी छन् ।

अन्तरराष्ट्रिय स्तरकी खेलाडी क्याथरिन सेकेरालाई वाल्यकालदेखि नै दमको समस्या थियो । डिसेम्बर महिनामा अत्यधिक दम बढेपछि उनलाई अस्पत्ताल भर्ना गरियो ।

कोमामा रहेकी उनलाई डाक्टरले ब्रेनडेथ घोषणा गरे । तर उनको मस्तिस्क मृत हुँदा उनको पेटमा १९ हप्ताको बच्चा हुर्कँदै थियो ।

डाक्टरले परिवारको सल्लाह अनुसार उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखे, ता कि उनको गर्भको बच्चा हुर्किन सकोस् ।

गत बिहीबार बच्चालाई जन्म दिएपछि सेकेरालाई मृत घोषणा गरिएको छ ।

डाक्टरका अनुसार उनीहरुले बच्चालाई शुक्रबार जन्माउने सोचेका थिए । शुक्रबार नै ३२ हप्ता पूरा हुँदै थियो तर सेकेराको बिग्रदोँ अवस्थालाई हेरेर बच्चालाई बिहिबार नै जन्म दिइयो ।

छोराको जन्म भयो जसको नाम स्लवाडोर राखिएको छ । उनी यतिबेला नियोनेटल अस्पतालको निगरानीमा छन् ।

सो अस्पतालको आचार समितीका प्रमुख फिलिप एल्मेडाले बच्चालाई आमाको गर्भमा जिउँदो राख्ने निर्णय परिवारसँग कुराकानीपछि लिइएको थियो ।

उनी भन्छन्, ‘यी आमाले आफ्नो बच्चालाई जीवित राख्नका लागि आफैंलाई दान थरिन् । एक आमाको निर्णयलाई चुनौती दिन कसैको अधिकार छैन ।’

बच्चाका पिता र परिवार बच्चालाई कुनै पनि हालतमा जिउँदो राख्न चाहन्थे । खबर अनुसार बच्चाको तौल १।७ किलोग्राम छ र उनलाई तीन हप्तासम्म अस्पतालमा राखिनेछ ।

सेकेराकी आमा मारिया डे फेटिमा ब्रैंकोले पोर्चुगाली टिभीलाई उनले २६ डिसेम्बरमा आफ्नी छोरीलाई विदाई गरेपनि ज्वाईंले सधैं पिता बन्न चाहेका कारण बच्चालाई राख्ने निर्णय गरेको जानकारी दिइन् ।

पोर्चुगलमा ब्रेन डेड महिलाले बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो ।

उता सन् २०१७ मा दक्षिणी ब्राजिलमा पनि डाक्टरहरुले मृत घोषणा गरेकी एक महिलाले ४ महिनापछि बच्चा जन्माएकी थिइन् । 

सिल्भा पेडिल्हा नामकी ती महिला गर्भवती भएकी अवस्थामा ब्रेन स्ट्रोक भएसँगै
सन् २०१६ को अक्टोबरमा मस्तिष्कको मृत्यु भएको घोषणा डाक्टरहरुले गरेका थिए । त्याे बेला उनको गर्भमा ९ हप्ताको भ्रुण थियो ।

सिल्भाका पतिले तुरुन्तै मृत घोषित आफ्नी पत्नीलाई सेनहोरा डो रोकियो अस्पतालमा भर्ना गराए । उनको ब्रेन डेथ भए पनि गर्भका बच्चाहरु ज्यूँदै रहेको डाक्टरहरुले पत्ता लगाए ।

त्यसपछि डाक्टरहरुले सिल्भालाई तुरुन्तै भेन्टिलेटरमा राखे । त्यसको १ सय २३ दिनपछि सिल्भा भेन्टिलेटरमै रहिन् ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट जुम्ल्याहा बच्चा निकाले । त्यसमा एक छोरा र एक छोरी थिए ।

उनी त वास्तवमा मरिसकेकी थिइन् मात्र गर्भका बच्चालाई बँचाउनका लागि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

बच्चा जन्मिसकेपछि उनलाई भेन्टिलेटरबाट निकालियो र अन्तिम संस्कार गरियो ।