चैत्र १६, २०८० शुक्रबार

महिलाका लागि मात्रै जिमहल : धेरै मोटाएपछि टिभि हेर्ने महिला जिम



काठमाडौं – ‘जिम जानुस्, जिउलाई राम्रो आकारमा ल्याउनुहोस्, खुसीसँग बाँच्नुहोस्’ पोष्टमा लेखिएको छ ‘पुरुषलाई अनुमति छैन ।’ यो टर्कीको इस्तानबुलस्थित उम्रानियको मा खोलिएको देशकै ठूलो बी–फिट जिमबाहिरको पोस्टर हो ।

त्यहाँ एकजना महलिा बेड्रिए ह्युल्यले महिलाको लागि मात्रै भनेर देशको सबैभन्दा ठूलो जिम हल बनाएकी छन् । उक्त जिम हहलमा महिला मात्रैको स्वामित्व छ भने कर्मचारी पनि महिला मात्रै छन् । त्यसैले, ती जिमहरूले महिलालाई तन्दुरुस्त राख्नुको साथसाथै उनीहरूलाई रोजगारी पनि दिदै आएको छ ।

तर, यसरी लिंग अनुसार फरक–फरक जिम खोल्दा त्यसले महिलालाई सघाउ पुर्याउँछ कि, विभाजनलाई स्थायी बनाउँछ रु भन्ने बहस पनि चलेको छ । कतिले छुट्टै जिम खोल्नु ठीक नभएको तर्क दिएका छन् ।

बिबिसी टर्कीका संवादाता नेयरन एल्डेनले तयार पारेको रिपोर्टअनुसार उक्त जिम देशकै सबैभन्दा ठूलो जिमहरूको सञ्जाल हो जसमा झण्डै ६ लाख ५० हजार सदस्यहरू छन् । जिम आउने धेरै महिलाहरू पहिला कहिल्यै जिम नगरेकाहरू छन् र पछिल्ला वर्षहरूमा सबै सदस्यहरूको कुल मिलाएर करिब ६ लाख किलो वजन घटेको छ ।

कसरी आयो यस्तो बिचार ?
बेड्रिए ह्युल्यले सन् २००६ मा कम्पनी स्थापना गरेकी हुन् । उनले अमेरिकामा महिलाका लागि मात्रै भनेर खोलिएको जिम देखेपछि आफूले पनि त्यस्तै जिम टर्कीमा खोलेकी हुन् । उनलाई अमेरिकाको उक्त जिम निकै मनप¥यो र सोचिन्, ‘हामीलाई पनि टर्कीमा यस्तै केहीको खाँचो छ सायद ।’

सुरुमा, मानिसहरूले उनलाई त्यसले काम नगर्ने बताएका थिए । उनीहरूले भनेका थिए, ‘यो सम्भव छैन किनभने टर्कीमा महिलाहरूले व्यायाम गर्दैनन्,’ उनले भनिन् । ‘तर, मैले त्यो दृष्टिकोणबाट हेरिनँ, मैले केवल अवसरको दृष्टिले हेरेँ ।’

ह्युल्यले टर्कीमा खेलमा खासगरी फुटबल क्लब, शारीरिक सुगठन गर्ने जिमहरू र बिलियार्ड खेल्ने क्लबहरू भएको पाइन् । तर, ती सबै पुरुषका लागि थिए । उनले सयौँ महिलाहरूसँग कुरा गरिन् र थाहा पाइन् खासगरी व्यायाम गर्नबाट उनीहरूलाई तीनवटा कुराले रोकेको रहेछ । समय, पैसा र जाने ठाउँहरूको अभाव । त्यसैले, उनले एउटा नमुना तयार गरिन् जसले ती सबै अड्चनलाई पार लगाउँथ्यो । जुन आज सफल भएको छ ।

उनले जिमलाई निकै सस्तो बनाइन् आधा घण्टा मात्रैको व्यायामको तालिका तय गरिन् र प्रत्येक छिमेकमा एउटा जिम खोल्ने निधो गरिन् । जसले महिलालाई सहज बनाओस् भन्ने उनी चाहान्थिन्

ती जिमहरू फ्र्यान्चाइजका रूपमा सञ्चालित छन् । जसमा सबै स्वामित्व महिलाकै छ र कर्मचारी पनि महिला नै छन् । केबल ३४ प्रतिशतमात्रै महिला काम गर्ने र त्यसमा पनि आफ्नै व्यवसाय गर्ने महिला कम भएको देशमा त्यो महत्वपूर्ण हो । टर्कीमा जम्मा ९ प्रतिशत महिलामात्रै उद्यमी छन् । त्यसले पनि घरबाहिर कति महिला निस्कनछन् भन्ने देखाउँछ ।

‘टर्कीमा धेरै महिलाहरू एक्लिएर बसेका छन् र उनीहरू घरबाहिर जाँदैनन् ‘महिला र खेलमा अनुसन्धान गरेकी बाचिसहिर विश्वविद्यालयकी समाजशास्त्रकी प्राध्यापक निलुफेर नर्लीले भनिन् ।

‘उनीहरू धेरै समय टिभी हेरेरै बिताउँछन् । त्यो राम्रो होइन, शारीरिक तन्दुरुस्तीका लागि उनीहरूले केही गरिरहनुपर्छ । स्वास्थ्यका लागि व्यायाम महत्वपूर्ण छ, र व्यक्तिको अभिव्यक्ति र अरू मानिससँगको घुलनमिलनका लागि पनि यो महत्वपूर्ण छ । ‘टर्कीमा आज धेरै महिलाहरूले धार्मिक परम्परागत बाधाहरू झेलिरहेका छन,’ उनले भनिन् ।

‘उनीहरूका बुवा, दाजुभाइ, पति, बिहे गर्ने व्यक्तिले उनीहरूलाई व्यायामका लागि नजानु नै राम्रो हुने भन्न सक्छन् र धेरै महिलासँग सामाजिक गतिविधि र मन बहलाउने खालका कामहरूका लागि पर्याप्त स्रोतहरू छैन ।’ मोटोपना टर्कीमा पनि बढिरहेको समस्या हो । यो समस्या पुरुषभन्दा महिला दोब्बरले बढी भएको देखिन्छ । घर बाहिरका काममा ननिस्केका कारण पनि मोटोपना बढेको उनीहरूको बुझाइ छ ।

सन् २०१८ मा स्वास्थ्य मन्त्रालयले गरेको अनुसन्धानअनुसार देशमा ४१ प्रतिशत पुरुषमा मोटोपना देखिएको छ भने ४१ प्रतिशत महिलामा देखिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार युरोपका देशमध्ये टर्कीमा सबैभन्दा धेरै महिलामा मोटोपना छ ।

धेरै आम्दानी गर्ने र युवा महिलाहरूले व्यायाममा धेरै भाग लिने देखिन्छ । र यद्यपि, केही महिलाहरू महिला पुरुष दुवै जाने जिममा जान खुसी हुन्छन् भने अन्य चाहिँ पुरुषसँगै व्यायाम गर्न सजिलो मान्दैनन् । ह्युल्य सक्दो धेरै महिलासम्म पुग्न चाहन्छिन् । त्यसैले उनीसँग महिलामात्रैका लागि हुने जिम खोल्नुको विकल्प नरहेको उनले महसुस गरिन् ।

‘यदि, जिम महिला पुरुष दुवैका लागि खोलिएको भए महिलालाई ल्याउन सहज हुँदैन थियो,’ ह्यूल्यले भनिन् । ‘उनीहरूका बुवा, दाजुभाइ, पति वा छोरा नै हुनसक्छन । जो उनीहरूले जीम जान पठाउँदैन थिए । तर, हामी भने महिला जिममा आउन् भन्ने चाहन्थ्यौं ।’

बितेका वर्षहरूमा ह्युल्यले व्यायामले गर्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर परेको देखेकी छन् । ‘हामीले बी–फिटमा सदस्य बनेका धेरै सदस्यहरू उनीहरूले सुरु गर्दा वितृष्णामा रहेको देखेका थियौँ र केही हप्तामै हामीले उनीहरूमा त्यस्तो नैराश्यता हटेको देख्यौँ,’ ह्युल्याले भनिन् ।

उनले अहिले यो विषय विद्यावारिधि गर्दै छिन् र यी शिक्षाहरू आफूमा लागू गर्ने पक्का गरेकी छन् । ‘म दैनिक व्यायाम गर्छु,’ उनले भनिन् । ‘यदि, तपाईंले राम्रो जीवन चाहनुहुन्छ भने चल्नैपर्छ । व्यायाम गर्नैपर्छ । (बिबिसीको सहयोगमा)