बैशाख १२, २०८१ बुधबार

ठगी गर्ने कम्पास रिक्रुटमेन्टकी मेनेजर पक्राउ



काठमाडौं – कामदार भिसा भन्दै झुक्याएर भिजिट भिसामा विदेशमा मान्छे पठाउने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्ने उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएर विदेश पठाउने गरेको प्रहरीले बताएको छ ।

महाशाखाका एसपी केदार ढकालका अनुसार वैदेशिक रोजगारीका लागि जान चाहने व्यक्तिलाई झुक्याएर भिजिट भिसामा पठाउने गरेकी थिइन् ।

धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइ दुबई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले राकेपछि उनले भिजिट भिसामा मान्छे पठाउने गरेको खुलेको थियो ।

उनीहरुको उजुरीको आधारमा ठगी कसुर अन्तरगत अनुसन्धान गर्दा उनले ठगी गरेको खुलेको थियो ।

थापाबाट अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने आशंकामा प्रहरीले जानकारी गराउन आह्वान गरेको छ ।

महाशाखाले उक्त कम्पनीका संचालक गिरिराज घिमिरेलाई पनि खोजी गरेको छ। 

थापा पक्राउ परेपछि घिमिरे फरार भएको हुँदा उनीहरुले अरुलाई पनि ठगी गरेको हुनसक्ने महाशाखाले जनाएको छ।