बैशाख १०, २०८१ सोमबार

मरेपछि जाने स्वर्गकाे आशामा महिलालाई ‘जीउँदै नर्क’ धकेल्दै



सुर्खेत– दुई छोरीपछि जन्माइसकेकी दिपायल सिलगढी नगरपालिका– ४ की २५ वर्षीया गौराकली विकलाई श्रीमानले गर्भ जाँच गराउन भारतको पालिया शहर लगे ।

जाँच गर्ने क्रममा डाक्टरले गर्भमा छोरी रहेको भन्ने बताएपछि उनीहरु गर्भपतन गराएर फर्के ।

“हामीलाई छोरो चाहिएको थियो, पलिया गएर मेसिनले हे¥यौँ, चेली रैछ, फालेर आयौँ”, उनले भनिन् ।

जिल्लाका अधिकांश ठाउँमा गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमान नै श्रीमतीलाई गर्भपतन गराउन सल्लाह दिने गरेका छन् ।

श्रीमानको सल्लाहबमोजिम यहाँका महिला लाचार भएर भ्रुणहत्या गर्छन् ।

त्यस्तै केआइसिंह गाउँपालिका–२ की कलामती कामीले पनि केही महीना पहिले कैलालीको एक अस्पतालमा गएर गर्भपतन गराइन् ।

गर्भमा छोरी भएको डाक्टरले बताएको भन्दै श्रीमान्ले गर्भपतन गर्न आग्रह गरेपछि कलामतीले ग्रर्भपतन गराएकी हुन् । उनीहरुका तीन छोरी छन् ।

“छोरो पाउँला भन्ने आशा गरेका थियौ, डाक्टरले छोरी छ भन्यो, फाल्यौँ” उनले भनिन् ।

आफू मरेपछि आफनो वंश धान्ने तथा बुढेसकालको सहारा छोरो हुने भन्दै गर्भमै (छोरी) भ्रूण हत्या गर्ने चलन बढेको बडिकेदार गाउँपालिका–१ का स्थानीय ललित कलेलले बताए ।

“छोरी पराइ घर जान्छ, छोरो बुढेसकालको सहारा बन्छ भनेर अधिकांशले गर्भमै छोरीको हत्या गर्न थालेका छन्, ” उनले भने “ यसको अन्त गर्न जरुरी भएको छ ।”

लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नु भनेको कानूनी अपराध हो भन्ने जान्दाजान्दै पनि पहाडी जिल्लामा भ्रूण हत्या गर्ने क्रम दिनानुदिन बढिरहेको छ ।

छोराको आशामा पटक/पटक गर्भपतन गर्दा पछि गएर महिलालाई ठूलो समस्या पर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताए ।

“धेरैपटक गर्भपतन गराउँदा महिलाको पाठेघरमा घाउ भएर कामै नलाग्ने हुनसक्छ,” उनले भने “जसले पछि गएर महिलालाई मृत्युको मुखमा धकेल्छ ।”

छोरा नभए आफू मरेपछि काज किरिया गर्ने र अंश खाने कोही नहुने अन्धविश्वास छ ।

छोरा नभए स्वर्ग जान पनि नमिल्ने भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीय गर्भपतन गर्न तयार हुने गरेको दिपायल सिलगढी नगरपालिका–२ का अध्यक्ष राजेन्द्र खड्काले बताए । “मरेपिछ स्वर्ग हुन्छ हुँदैन, तर पटक पटक गर्भपतन गराएर जीउँदै महिलाको जीवन नर्क बनाएका छन् ”, उनले भने ।

कानूनले १२ हप्ता अर्थात् तीन महीनासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था गरेको भए पनि लिङ्ग पहिचान गरेर चार महीनापछि पनि गर्भपतन गराउने काम सुदूरपश्चिममा व्यापकरुपमा भइरहेको स्थानीयवासी तथा चिकित्सक लोकेन्द्र बोहराले बताए ।

“यसबाट आमाको ज्यान जाने खतरा हुन्छ ,” उनले भने । गर्भमा लिङ्ग पहिचान गर्न नपाइने कानूनी प्रावधान भए पनि गोप्यरूपमा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गरिएको दिपायलकी स्थानीय लक्ष्मी शाहीले बताइन् । “गोप्यरूपमा लिङ्ग पहिचान गराउँछन्, छोरो भए राख्छन, छोरी भए फालेर आउँछन् ”, उनले भनिन् ।

यहाँका स्थानीयवासीले सुदूरपश्चिमका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज र छिमेकीमुलुक भारतका पलिया, रूपेडिया, खटिमा लगायतका बजारका केही निजी अस्पतालमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने गरेको पाइएको छ ।

छोरा पाउने आसमा सुदूरपश्चिमेली महिलाले गर्भपतन गराउने गरेको सबै क्षेत्र र ठाउँमा जानकारी भए पनि त्यसको रोकथामका लागि हालसम्म कसैले पनि पहल गर्न नसकेको स्थानीय स्वास्थ्यकर्मी रञ्जना शाहुले बताइन् ।

“कुन ठाउँमा कसले गर्भपतन गराउँछ भन्ने प्राय सबैलाई थाहा छ तर, रोक्ने सम्झाउने प्रयास कसैले गर्दैनन्, यो आफैँमा दुर्भाग्य हो ”, उनले भनिन् ।

लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य रोक्नका लागि बनेको कानून पूर्णतया कार्यान्वयनमा आउन नसकेका कारण जिल्लामा गर्भपतन गर्ने हावी भएको कानून व्यवसायी शङ्करदीप मडै बताउँछन् ।

गर्भपतन गराउनेमा कलिलो १८ वर्ष उमेर देखि ३८÷४० वर्ष सम्मका महिला प्राय बढी छन् । छोरो पाउने आसमा गरिने भ्रूण हत्या रोक्न यहाँका अन्य महिला तथा अधिकारकर्मीले माग गरेका छन् ।