चैत्र १६, २०८० शुक्रबार

राष्ट्रपति भण्डारी आज चीन प्रस्थान गर्दै, रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा छलफल हुने



राजकीय भ्रमणको लागि  राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्दै छिन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमणमा निस्कन लागेकी हुन्।

नेपाल वायुसेवा निगमको विमानमा अहिले बिहान ११ बजे राष्ट्रपति चीन प्रस्थान गर्ने कार्यक्रम छ।

गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुखले राष्ट्रिय ध्वजावाहक विमान चार्टर गरेर चीन जान लागेको यो पहिलोपटक हो।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित करिब ८० जना रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

चीन भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ।

त्यसका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारिएको छ।

ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत यसमा छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ।

त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।

यो हस्ताक्षरपछि नेपालले चीनका चार सामुद्रिक बन्दरगाह र दुई सुक्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्नेछ।