बैशाख २, २०८१ आईतबार

श्रीमतीको नाममा अस्पताल बनाउन तीन करोड



श्रीमतीको नाममा अस्पत्ताल बनाउन रु ३ करोड सहयोग गर्ने उदयकुमार पिया

चितवन — भरतपुरका एक व्यवसायीले आफ्नी श्रीमतीको नाममा मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) अस्पत्ताल निर्माणको रु ३ करोड सहयोग गरेका छन् ।

भरतपुर महानगरपालिकाका ९१ वर्षीय उदयकुमार पियाले श्रीमती चमेलीदेवी पियाको नाममा अस्पताल निर्माण गर्न सहयोग गरेका हुन् ।

भरतपुर–३ नगरवन क्षेत्र नारायणगढमा स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्र स्थापना हुँदैछ ।

मेरुदण्डमा चोटपटक लागे पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् ।

उपचार भए पनि पक्षाघात भएकाहरूले हृवीलचियरको साहरा लिँदा दिनचर्या सहज हुन सकेको छैन । त्यसैले काठमाडौ भन्दा बाहिर पहिलोपटक स्थापना हुन लागेको (स्पाइनल इन्जुरी) को उपचार र पक्षाघात भएकाहरूको पुनर्स्थापनाका लागि अस्पताल बनाउन सहयोग गरेको पियाले बताए ।

‘स्पाइनल इन्ज्योरी भएका बिरामीलाई हिँड्डुल गर्न निकै कठिन हुन्छ । उनीहरूको उपचार र पुनस्र्थापना गरिने भएकाले सहयोग गरेको हुँ,’ उनले भने ।

महत्त्वपूर्ण सहयोग गरेका कारण अस्पतालको नाम नै श्री उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी हस्पिटल तथा पुनर्स्थापना केन्द्र राखिने भएको छ ।

उनकी पत्नी चमेलीको १८ वर्षअघि मृत्यु भएको थियो । बन्दीपुरमा जन्मिएका पिया २००५ देखि चितवनमा व्यापार गर्दै आएका छन् ।

व्यवसायबाट जोगाएको पैसा सहयोग गरेको उनले बताए । उदयले गरेको सहयोगप्रति परिवारजन पनि खुसी छन् । उनका जेठा छोरा डा। मदनकुमार पिया सामाजिक कार्यका लागि बुबाले गरेको सहयोगले खुसी तुल्याएको बताए ।

६ वटा रोटरी क्लबहरू रोटरी क्लब अफ चितवन, रत्ननगर, नारायणगढ, नारायणी मिड टाउन, भरतपुर र जावलाखेलले संयुक्त रूपमा स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न लागेका हुन् ।

काठमाडौंपछि मोफसलमा पहिलोपटक केन्द्र बन्न लागेको परियोजनाका संयोजक उत्तमलाल चुकेले बताए । एक बिघा क्षेत्रफलमा १३ हजार वर्गफिटको भवन बन्ने छ ।

२५ शय्याको केन्द्रका निर्माण गर्न ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने केन्द्रका लागि भरतपुर महानगरले जग्गा उपब्ध गराएको छ । भवनको सोमबार शिलान्यास गरियो ।