बैशाख १, २०८१ शनिबार

गाउँका महिलामा पाठेघर समस्या



जुम्ला – हत्तपत्त उपचारका लागि स्वास्थ्य संस्था नजाने पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढालाई गाउँमै आएको शिविरमा जँचाउँदा पाठेघरको समस्या देखियो ।

“ढाड दुख्ने सँधै हुन्थ्यो, तर जँचाएको थिइन्, अहिले पाठेघरमा समस्या देखियो ”, उनले भनिन् ।
त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो ।

गाउँमै सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा अधिकाँस महिलामा पाठेघरको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य उपसंयोजक रतन बुढ्थापाले बताए ।

“पाठेघरमा समस्या देखिनुको प्रमुख कारण भनेको कलिलै उमेरमा विवाह गर्नु, प्रजनन अङ्ग परिपक्व नहुँदै बच्चा जन्माउनु, बढी बोझिला काम गर्ने र पोषणयुक्त खानाको आभाव नै हो ”, उनले भने ।

घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण गरी महिलाका पाठेघरमा देखिएका समस्याका विषयमा औषधि उपचार गरिएको छ ।

जटिल समस्या देखिएका महिलालाई सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था समेत गाउँपालिकाले गरेको उनले बताए ।