बैशाख ८, २०८१ शनिबार

दाइजाे नल्याएकाे भन्दै ३७ दिनमा दुई महिलाकाे हत्या, आगाे लगाएकी एक घाइते




काठमाडाैं – तराईमा ३७ दिनकाे अन्तरालमा तीन जना महिलालाई आफ्नै श्रीमानले हत्या गरेका छन् ।

एकजनालाई कुटपिट र अर्की महिलालाई जीउँदै आगाे लगाएर हत्या गरेका हुन् ।

मट्टीतेल खन्याएर आगाे लगाएकी एक महिला घाइते छिन् ।

सिराहाकाे गसिरहा नगरपालिका ८ की कञ्चन मण्डल र पर्साको विरगन्जकी सुनिता यादवकाे हत्या भएकाे हाे ।

श्रीमान बेचन मण्डल र सासुले २१ वर्षीया कञ्चन लाई बिहिबार सासु र श्रीमानले जीउँदै आगाे लगाएर जलाएका थिए ।

मट्टीतेल छर्केर जिउँदै जलाइएकी उनकाे शुक्रबार सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारकै क्रममा मृत्यु भएको हाे ।

शरीरको ८० प्रतिशत माग जलेकी कञ्चनलाई स्थानीयले जलिरहेकै अवस्थामा देखेपछि धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए।

प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो। 

उनलाई अस्पतला ल्याइपुर्‍याएको केही समयमा नै डाक्टरले मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको र अवस्थामा फेला पारेको सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए।

उनका श्रीमान् भने फरार छन् भने सासुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यसअघि ६ चैतमा पनि दाइजो नल्याएको भन्दै पर्साको विरगन्जमा नारायणी अस्पतालका चिकित्सक डा. सचिता नन्द यादवकाे कुटपिटबाट श्रीमती सुनिताकाे मृत्यु भएकाे थियाे ।

सुनिताको निधनपछि यी चिकित्सक कर्तव्य ज्यान मुद्धामा हाल पुर्पक्षका लागि थुनामा छन्।

५ वैशाखमा धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए।

२० वर्षीय निर्मला यादबको ज्यान भने जोगिएको थियो।