चैत्र १६, २०८० शुक्रबार

समावेशीताको सबैभन्दा धेरै वकालत गर्ने (नेकपा) मा जम्मा तीन जना महिला अध्यक्ष



समावेशीताको सबैभन्दा धेरै वकालत गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लामा जम्मा तीन जना मात्र महिलालाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

गत सोमबार सार्वजनिक गरेको जिल्ला अध्यक्षहरुमध्ये मकवानपुर, काभ्रे र लमजुङमा मात्रै महिला अध्यक्ष बनेका छन् ।

तिनमा मकवानपुरकी मुनु सिग्देल, काभ्रेकी रुकु चौलागाई र लमजुङकी मधु अधिकारी छन्।
तीन मध्ये मकवानपुरकी सिग्देलले पूर्व एमालेको तर्फबाट नेकपाको जिल्ला नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन् भने काभ्रेकी चौलागाईं र लमजुङकी अधिकारीले पूर्व माओवादी केन्द्रको तर्फबाट।

लमजुङकी मधु अधिकारी नेकपाको जिल्ला अध्यक्ष हुनुअघि पूर्व माओवादी केन्द्रको जिल्ला संयोजक थिइन्। उनी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य छिन्।

जनयुद्धकालदेखि नै माओवादी राजनीतिमा संलग्न अधिकारीले जनयुद्धमा आफ्ना श्रीमान् आशलाल गुरुङलाई गुमाएकी थिइन्।

माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा निर्वाचनमा उनी लमजुङ–२ बाट तत्कालिन माओवादीको तर्फबाट उम्मेदवार थिइन्।

तर, गण्डकी प्रदेशका वर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट पराजित भइन्। दोस्रो निर्वाचनमा समानुपातिक सूचीमा परेपनि संविधान सभा सदस्य बन्ने अवसर उनलाई जुरेन।

उनी नातामा दाजु पर्ने लमजुङ ‘क’ का प्रदेशसभा सदस्य धनन्जय दवाडीलाई उछिन्दै लमजुङको पार्टी नेतृत्व पाएकी छन्। दवाडीले जिल्ला सचिवको जिम्मेवारी पाएका छन्।

मकवानपुरकी अध्यक्ष सिग्देल पनि पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी हुन्। ०४६ को आन्दोलन चल्दै गर्दा उनी जिल्लामा तत्कालिन मालेको विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्ष थिइन्। त्यसै हैसियतमा उनी आन्दोलनमा सक्रिय रहिन्।

आन्दोलनकै क्रममा मकवानपुरमा एकजना प्रहरीको मृत्यु भयो। पक्राउ परेकी मुनुमाथि प्रहरी हत्याको संगिन आरोप लाग्यो। उनले आजिवन कारावासको सजायँ पाइन्। तर, आन्दोलन सफल भएपछि जेलबाट रिहा भइन्। उनीमाथिको मुद्दापनि सरकारले फिर्ता लियो।

३० बर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मुनुको मकवानपुरबाट निर्वाचित तत्कालिन एमालेका सांसद विरोध खतिवडाकी श्रीमति र मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन्।

सञ्चारमन्त्री गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेको नेकपा संगठन कमिटीले पनि महिला अध्यक्ष पाएको छ। जनयुद्धको सुरुवातकालदेखि नै माओवादी राजनीतिमा संलग्न रहेकी रुकु काठमाडौँ पूर्वकी अग्रणी महिला नेतृ थिइन्।

माओवादी नेता यानप्रसाद गौतम ‘आलोक’को निर्देशनमा आफ्नै कार्यकर्ता रमेश ढुङ्गेलको हत्या भएको खुलाशा भएपछि रुकु पनि पार्टी कार्वाहीमा परेकी थिईन् ।

पार्टी कार्वाहीबाट मुक्त भएपछि रुकु काठमाडौँमै रहेर तरकारी पसल सुरु गरिन्। माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि पार्टी राजनीतिमा फर्केकी उनी माओवादी विभाजन हुँदा मोहन बैद्य (किरण) समूहकमा लागिन् । रामबहादुर थापा (बादल) सँगै फेरी माओवादीमा फर्केकी उनी त्यसपछि माओवादी केन्द्र काभ्रेको जिल्ला संयोजक बनेकी थिइन् ।