बैशाख ५, २०८१ बुधबार

धादिङ्गमा महिलाको दाइजोको निहुँमा हत्या आशंका



धादिङ – दाइजोको कारण महिलाको हत्या हुने घटना तराइमा मात्र सार्वजनिक भइरहेको बेला धादिङ्गको त्रिपुरासुन्दरीमा पनि त्यस्तै घटना घटेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका – ४, कार्की गाउँकी मेनुका न्यौपानेको दाइजोका कारण परिवारले हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

उनले ७ वैशाखमा विष पिएर मृत्यू भएको भन्दै परिवारले माइतीलाई खबर गरेका थिए । तर मेनुकाको शरीर भरी नीलडाम, अनुहारमा चोटपटक, र कपडा समेत भिज्ने गरी नाक मुखबाट रगत बगेको देखिएकाले आत्महत्या हुनै नसक्ने भन्दै माइतीपक्षले प्रहरीमा उजुरी गरेका छन् ।
उनका भाइ बासुदेवले निष्पक्ष छानविनका लागि माग गरे ।

नुवाकोट किस्पाङ गाउँपालिका- २ माइती भएकी मेनुकाको २३ माघमा धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका – ४, कार्की गाउँका रुपेश ढुङ्गानासँग मागी विवाह भएको थियो।

विवाह गर्ने बेलामा केटीपक्षले दाइजो दिन नसक्ने सहमती गरेर विवाह गरिएको र पछि पटकपटक दाइजो मागेर बहिनीलाई दुःख दिएकोकाले उनको हत्या भएको माइतीपक्षले आशंका गरेका छन्।

“विवाहको १६ औं दिनमा माइती आउँदा नै बहिनीले घरमा दाइजो नल्याएको भनेर आफूलाई मानसिक र शारीरिक यातना दिएको बताएकी थिइन्।

पछि विवाह गराउने लमीमार्फत पनि दाइजोको माग गरियो,” मृतक मेनुकाका भाइ बासुदेवले भने, “हामीले विवाह गर्नुअघि नै कुनैपनि किसिमको दाइजो नलिने/नदिने सहमती गरी विहे गरिएको भन्दै दाइजो दिन नसक्ने जवाफ फर्काएका थियौं।”

घटना हुनु एक दिनअघि ९वैशाख ६ गते० पनि बहिनीले फोन गरेर आफू भोली माइत आउने बताएकी तर ७ गते बिहानैदेखि बहिनीको मोबाइल अफ भएको बासुदेवले बताए। “घटनाको विषयमा हामीलाई घरपरिवारले कुनैपनि जानकारी दिएन,” बासुदेवले भने, “गाउँलेमार्फत विष खाएर मृत्यु भएको जानकारी पाएपछि हामीले घर परिवारसँग बुझ्दा उपचार भइरहेको भनेर ढाँटियो ।”

घटनाको विषयमा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न नमानेको मृतकका माइतीपक्षले आरोप छ। “हामीलाई हाम्रै ज्वाइमाथि शंका छ, तत्काल नियन्त्रणमा लिएर अनुसन्धान होस,” बासुदेवले भने।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले भने जाहेरी लिएर सुक्ष्म अनुसन्धान भइरहेको बताए। उनले भने, “मृतकको जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम गरिएपनि हालसम्म पोष्टमार्टम रिपोर्ट नआएको र शवको भिसेरा परीक्षणको लागि पनि नमूना काठमाडौं पठाएको छौं।”

रिपोर्टमा कर्तब्य ज्यान देखिए तत्काल कारवाही प्रक्रिया अघि बढाउने एसपी बैदवारले जानकारी दिएकाे अन्नपूर्णपाेष्टले लेखेकाे छ ।

घटनाको विषयमा बुझ्न खोज्दा मृतक मेनुकाका श्रीमान् रुपेश ढुङगानाको मोबाइल भने स्वीच अफ गरिएको छ